
दाङ, बैशाख २६ ।
सल्यानमा लगातार दुई दिन भएका दुई ट्रयाक्टर दुर्घटनामा परि दुई जना चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लामा शुक्रबार दिउँसो र शनिबार बिहान भएको ट्रयाक्टर दुर्घटनामा परि दुई जना ट्रयाक्टर चालकको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार बिहान ७ बजेतिर भे. १ त. २०९० नम्बरको ट्रयाक्टर दुर्घटनामा परि जिल्लाको शारदा नगरपालिका – १३ का २५ बर्षीय बशन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले जानकारी दिएका छन् ।
श्रीनगरबाट दमाचौर तर्फ जादै गरेको उक्त ट्रयाक्टर बागचौर नगरपालिका – १० भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो ।
ट्रयाक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो ।
ट्रयाक्टर भानुभक्त माध्यामिक बिद्यालय दमाचौरका लागि निर्माण सामाग्री बोकेको जाँदै थियो ।
दुर्घटना पछि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायव निरीक्षक रत्नलाल खड्का नेतृत्वको टोली पुगेर मृतकको शब पोष्ट मार्टमका लागि अस्पताल पठाएको थियो ।
यस्तै प्रकृतिको अर्कौ एउटा दुर्घटना जिल्लामा शुक्रबार दिउँसो पनि घटेको थियो ।
त्यो दुर्घटनामा परि जिल्लाको दार्मा गाउँपालिका –२ का १७ वर्षीय चालक प्रदीप विकको पनि घटनास्थलमै मृत्यु भएको थियो ।
दिउँसो साढे १ बजेतिर ट्रयाक्टर फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्रयाक्टर जिल्लाको दार्मा गाउँपालिका –२ भुसखोला नजिकै सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
त्यो दुर्घटनामा परि दार्मा – २ का २२ वर्षीय विशाल विक र १७ वर्षीय टेकबहादुर विक घाइते भएका थिए ।