शिवु खनाल, देउखुरी, बैशाख ९ ।
दाङको लमहीमा ‘नेपाल लाटो कोसेरो तथा हुचिल उत्सव २०८३’ आयोजना गरिदै छ ।
‘अजम्मरी सामुदायिक वन उपभोक्ता समुह लमही र प्रकृतिका साथीहरु’ नामक संस्था काठमाडौँको संयुक्त बैशाख १८ र १९ गते १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।
महोत्सव जैविक विविधता ग्रीनपार्कमा आयोजना गरिने भएको छ ।
बुधवार लमहीमा पत्रकार सम्मेलन गरि १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सव बारे जानकारी दिइएको हो ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले महोत्सव बारे जानकारी दिएका थिए ।
लमहीमा यो उत्सव गर्ने बारे कात्तिक ९ गते सम्झौता भएको थियो ।
किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापारका साथै शिकार हुन थालेपछि संरक्षणमा टेवा पुगोस भन्ने हेतुले उत्सवको आयोजना गर्न लागिएको आयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
अवैध व्यापार र चोरी सिकारका कारण संकटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव गरिसकेका छ ।
लाटोकोसेरो लगायत पन्छी र वन्यजन्तुसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा हातेमालो गर्न जरुरी रहेको उनले बताए ।
ठुला र बूढा रुख कटानी हुँदा लाटो कोसेरोलाई वासस्थानको अभाव हुने गर्छ । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटो कोसेरोमैत्री संरचनाको अभावले पनि उनीहरु समस्या परेका छन् ।
सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको वन्यजन्तु संरक्षणकर्मी चिरञ्जिबी खनालले बताए ।
भारत, अमेरिका , इटाली लगाएतका देशहरुमा पनि यस्तो उत्सव मनाइने गरिएको छ ।
यो उत्सव नेपालमा पनि केही वर्ष यता मनाउँदै आइएको छ । लमहीमा आयोजना हुन लागेको लाटोकोसेरो तथा हुचिल उत्सव जिल्लाकै पहिलो उत्सव हो । हालसम्म यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा आयोजना भइ सकेको छ ।
उत्सवमा के – के गरिन्छ
दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन चरा अवलोकन, लाटो कोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम तथा रोबोट प्रदर्शनी, लाटो कोसेरोसम्बन्धी स्लाइड तथा भिडियो प्रदर्शनी गरिने छ ।
उत्सवको दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटो कोसेरोसँग सम्बन्धी सामग्रीहरू प्रदर्शन गरिने छ । उत्सवलाई जीवन्त बनाउन स्थानीय थारु, मगर, गुरुङ, कुमाल लगायतका सांस्कृतिक नृत्य र भजन तथा लोपोन्मुख स्थानीय प्रतियोगिता पनि राखिने भएको छ। उत्सवमा नेपालको सबैभन्दा ठूलो लाटो कोसेरोको मस्कोट पनि प्रदर्शन गरिने छ ।
लाटोकोसेरोले मुसाको शिकार गरी नियन्त्रण गर्ने हुनाले यसलाई किसानको साथी मान्ने गरिन्छ । लाटोकोसेरोको भाले, पोथी र एउटा बच्चाले एक सिजन अर्थात ४ महिनाको अवधिमा करिब ३ हजार वटासम्म मुसा खाने सर्बेक्षणहरुले देखाएको छ ।
मुसाबाहेक लाटो कोसेरोले किरा, फट्यांग्रा, सर्प र भ्यागुतालाई पनि नियन्त्रणमा मद्दत गर्छ । यसको शिकार वा किनबेच गरेमा २५ देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजायँ वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।
नेपालमा तराईदेखि हिमालसम्मै बासस्थान रहेको लाटोकोसेरोको संख्या भने एकिन छैन । नेपालमा २४ प्रजातिका लाटो कोसेरोको पाइन्छन् । ती मध्य ८ प्रजाति लोकउन्मुख अवस्थामा पुगेका छन् । विश्वभर २सय ६० प्रजातिका लाटोक ोसेरोहरु पाइन्छन् ।
नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख मानिन्छन् ।
ब्यानर अनावरण
बैशाख १८ र १९ गते लमहीमा रहेको जैवि विवितधा ग्रीनपार्कमा हुन गइरहेको १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सको ब्यानर अनावरण गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य लिला शाह, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजाल, प्रकृतिका साथीहरु नामक संस्था काठमाण्डौँका निर्देशक राजु आचार्य, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका कोषाध्यक्ष तेजबहादुर विक, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका सह–सचिव हिमन्तप्रसाद पाण्डे, वन वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशीले संयुक्त रुपमा ब्यानर अनावरण गरेका हुन ।
उत्सवलाई सहभागितामूलक बनाउन विभिन्न विद्यालयसँग सहकार्य गरी विद्यार्थी बाट लाटोकोसेरो तथा हुचिल संरक्षणसम्बन्धी चित्रकला, कविता र निबन्ध संकलन, निमन्त्रणा वितरणलगायतका कार्य भइरहेको आयोजकले जनाएको छ ।