तकियापुर, चैत २४ ।
तुलसीपुर उपमहानगरपालिका – २ स्थित वडाकार्यालय तकियापुरमा मंगलबारदेखि एक महिने बाँसको चोयाबाट सामाग्री निर्माण सम्बन्धि तालिम सुरु भएको छ ।
तालिम चैत २४ गतेदेखि आगामी बैशाख २३ गतेसम्म जारी रहने छ ।
तुलसीपुर – ६ को थर्ड आई नेपालको आयोजना, पर्यटन डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोग र तुलसीपुर – २ को सहकार्यमा तालिम सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष भिमबहादुर योगीले स्थानीय स्तरमै उप्लब्ध हुने बाँसको सदुपयोग गरि फाल्तु समयमा सीप सिकेर आत्मनिर्भर र स्वाबलम्बी बन्न आग्रह गरे ।
बिगतमा पुर्खाहरुले गोरुलाई लगाउने मोकारादेखि, सुपो, डोको, डालो लगाएतका सामाग्री निर्माण गरि त्यसको प्रयोग हुने गरेपनि पछिल्लो समय बाँसबाट बन्ने सामाग्रीहरु लोपहुन थालेको हुँदा नयाँ पुस्ताले बाँसको चोयावाट सामाग्री बनाउने सीप सिक्न जरुरी रहेको बताए ।
‘हलो जोत्ने वा गाडी चलाउने जस्ता काम बिगतमा पुरुषले मात्रै गर्छन भन्ने भ्रम थियो,’ उनले भने ‘ आजका महिलाले हलो आँफै जोत्न थालेका छन् र ट्याक्टर लगाएत बहान आँफै चलाएर खेतीपातिको काम गर्दै आएका छन् ।’
वडाध्यक्ष योगीले दत्तचित्त भएर सीप सिक्न र सीकेका कुरा ब्यबहारमा उतारेर देखाइ आत्मनिर्भर बन्न आग्रह गरेका थिए ।
थर्ड आई नेपालका अध्यक्ष वशन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख मुक्तिप्रशाद पाण्डेले पछिल्लो समय प्लाष्टिक सरसफाइ र स्वास्थ्यका दृष्टिकोणले चुनौतिपूर्ण बनेको हुँदा त्यसको समाधान स्थानीय स्तरमै उपलब्ध हुने बाँसका सामाग्री निर्माण गरि प्रयोग गर्नू उत्तम बिकल्प हुने बताए ।
लुम्बिनीकै तिलोत्तमा नगरपालिकाले प्लाष्टिक मुक्त क्षेत्र घोषणा भइ मुलुकै नमुना पालिका बनेको भन्दै उनले सिकेको सीपलाई ब्यहारमा उतार्दै भविश्यमा तुलसीपुरका हरेक टोल र चोकमा बाँसका डष्टिबिन प्रयोग गर्न सकिने सझुाए ।
‘ तपाँइहरु सीप सिकेर भान्सादेखि बजारसम्म प्रयोग हुने हरेक सामाग्री बाँसका निर्माण गरि प्रयोग गर्न सक्नु हुन्छ,’ उनले भने ‘ त्यसले तपाँइलाई आत्मनिर्भर मात्रै बनाउने छैन आयआर्जनमा पनि टेवा पुग्ने छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालयका बरिष्ठ अधिकृत कृष्णबहादुर बिष्टले पुर्खाको सीपलाई नयाँ पुस्तामा लैजान सके त्यसबाट हरेक दृष्टिकोणले हानिकारक प्लाष्टिकको उपयोग घटाउने बताए ।
एक महिने तालिमका प्रशिक्षक बृषराज बिकले रेडिमेड र आयातित सामाग्रीको प्रयोगले पूर्खाको सीप तथा कला लोपहुने अवस्थामा पुगेको हुँदा सीप सिकेर फुर्सदको समय सदुपयोग गर्न सके त्यसले आत्मनिर्भर हुन सहयोग पुग्ने बताए ।
पूर्व शिक्षक अम्बिका योगीले बिगतमा पुर्खाले आँफुलाई दैनिक जीवनमा आवश्यक पर्ने हरेक चिज बस्तु बाँसको चोयावाट निर्माण गरि ती बस्तु उपयोग गर्ने गरेको भएपनि पछिल्लो पुस्ताले त्यो बिर्सदै जाँदा मौलिक सीप लोप हुने चिन्ता जाहेर गरे ।
थर्ड आई नेपालकी पुष्पा भण्डारीको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सन्तोष लामिछानेले गरेका थिए ।
आयोजकका अनुसार तालिममा स्थानीय २५ जना महिला सहभागी छन् ।