दाङ, फागुन १८ । रुकुम पूर्वमा मोटरसाइकल दुर्घटनामा परि रुकुम पश्चिमका एक किशोरको मृत्यु भएको छ । एक बालिकासहित दुई जना घाइते छन् ।
दुर्घटनामा परि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –११ का १९ वर्षीय समिर गिरीको मृत्यु भएको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रशाद यादबले बताए ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे ८ प ६७९७ नम्बरको मोटरसाइकलले रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ मा स्थानीय १० बर्षीया बालिका अनिता डाँगीलाई ठक्कर दिएपछि मोटरसाइकल दुर्घटनामा परेको थियो ।
त्यो दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार रुकमु पश्चिमको आठबिसकोट – ११ का १८ बर्षीय सुरेश गिरी घाइते छन् । दुर्घटना पछि गम्भीर घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक समिर गिरीको साढे ६ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते बालिका डाँगी र सुरेशको रुकुम पूर्व जिल्ला अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तीब्र गतिको मोटरसाइकलले बालिकालाई ठक्कर दिएपछि दुर्घटना भएको थियो ।