तुलसीपुर, फागुन ८ । बिहीबार बेलुकी अबेरसम्म तुलसीपुरको बीरेन्द्र चोक आसपासमा मानिसहरु खचाखच थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का बरिष्ठ नेता बालेन शाह पहिलो पटक दाङ आउने थालेको खबर पछि उनैलाई हेर्न र स्वागत गर्न सर्वसाधारण तथा समर्थक बीरेन्द्र चोकमा त्यसरी भेला भएका थिए ।
रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट एक सय बुँदे वाचापत्र सार्वजनिक गरेको थियो । जहाँ बरिष्ठ नेता बालेनपनि सहभागी थिए । सुर्खेतमा बालेनले पनि सम्बोधन गरेका थिए ।
बालेन सुर्खेतबाट सल्यान कालीमाटी हुँदै दाङको तुलसीपुर आउने भनिएको थियो । त्यो सूचनाका आधारमा बालेन समर्थक ठूलो संख्यामा तुलसीपुरको बीरेन्द्र चोकमा झुसमुसे साँझदेखि नै जम्मा हुन थालेका थिए ।
तर, लामो समय प्रतिक्षा गर्दापनि बालेन आउँदै आएनन् । पार्टी सभापति रबि लामिछाने लगाएतका नेताहरु भने आए । त्यो बेला बालेन एकाएक अश्वस्थ बनेको हुँदा सुर्खेत बाट हवाइ जहाज मार्फत काठमाडौं फर्किएको जानकारी दिइएको थियो ।
बालेन नआएपछि समर्थकहरु निराश हुँदै घर फर्किएका थिए । उपस्थित भिडले बालेनको खोजी गरेको थियो ।
दाङको घोराहीमा राश्वपाले शुक्रबार लुम्बिनी प्रदेशस्तरिय निर्वाचन लक्षित कार्यक्रम राखेको छ ।
त्यो कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रबि लामिछाने संगै बरिष्ठ नेता बालेन शाहपनि दाङ आउने भनिएको थियो ।
बालेन पहिलो पटक दाङ आउने कुरा थाहाँ पाएका समर्थक उनको स्वागतमा ठाउँ – ठाउँमा भेला भएका थिए । कालीमाटीका साथै पश्चिमको बबई गाउँपालिकाको हापुरे बजार लगाएतमा सर्वसाधारण मानिसहरुको बाक्लो जमघट थियो । उनीहरु पनि बालेन नआएपछि निराश भएका थिए ।
अश्वस्थ्य भइ काठमाडौं फर्किएका भनिएका बालेन शुक्रबार घोराहीमा आयोजित कार्यक्रममा आउने नआउने टुँगो छैन ।
एक नेताका अनुसार दिउँसो १ बजेसम्म भएपनि बरिष्ठ नेता बालेन घोराहीको कार्यक्रममा आइपुग्ने भनिएपनि त्यसको टुँगो भने छैन ।
यदि उनी घोराही आएनन् भनेपनि भैरहवामा हुने कार्यक्रममा भने सहभागी हुने ती नेताले बताए ।
केपी ओली बिरुद्ध चर्का नाराबाजी
तुलसीपुरको बीरेन्द्र चोकमा भेला भएका राश्वपाका कार्यकर्ताले नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध चर्का नाराबाजी गरेका छन् ।
पार्टी सभापति रबि बीरेन्द्र चोकमा आउँदै गर्दा उनीहरुले केपी बिरुद्ध चर्का नाराबाजी गरेका हुन ।
उनीहरुले ‘केपी चोर देश छोड’ भन्ने नाराबाजी गरेका थिए ।
साथै उनीहरुले एमालेको चुनाब चिन्ह ‘सुर्य’ अंकित झन्डा जलाएको आरोप एमाले नेताहरुको छ । जस्को एमाले नेताहरुले बिरोध गरेका छन् ।