दाङ, माघ १४ । नेपाली कांग्रेसका उम्मेदवारले रुकुम पश्चिममा क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलनको अभियान सुरु गरेका छन ।
क्यूआर कोडमार्फत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता र निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिने व्यवस्था गरिएको छ।
जस्का लागि गुगल फाराम तयार गरिएको छ । त्यसमा मतदाताले आफ्ना सल्लाह, सुझाव तथा अपेक्षा सहजै राख्न मिल्छ । काँग्रेसका युवा उम्मेदवार राजु केसीले संकलित सुझावका आधारमा भविश्यमा योजना निर्माण गरिने बताए ।
केसीले समृद्ध रुकुम पश्चिम निर्माण गर्न र विगतका अधुरा विकासका काम पूरा गर्न मतदाताको सक्रिय सुझाव आवश्यक रहेको हुँदा क्यूआर कोडमार्फत सुझाव संकलन गर्ने अभियान थालिएको बताए ।
ब्यस्त मतदातालाई आफ्नो सुविधा अनुकुल सार्वजनिक रुपमा क्यूआर कोडमार्फत सुझावहरु दिन आह्वान गरिएको उनले बताए ।
बुधबारदेखि नै काँग्रेस उम्मेदवारले यो अभियान संचालनमा ल्याएका छन् । समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिने बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुकुम पश्चिममा काँग्रेसले प्रत्यक्षतर्फ युवा उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र भएको रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेपाली कम्यूनिष्ट पार्टीका गोपाल शर्मा लगाएतका उम्मेदवार प्रतिष्पर्धामा छन् ।
बिगतका निर्वाचनहरुमा निरन्तर यो क्षेत्रमा जर्नादन बिजय हुँदै आएका थिए । तर, यसपटक झन्डै तीन दशक लामो ‘प्रचण्ड’ संगको सम्बन्ध टुँग्याउँदै जनार्दन एक्लै प्रतिष्पर्धाका लागि मैदानमा उत्रिएका छन् ।
पूर्व माओबादीहरुको टुटफूटको मौका छोपेर काँग्रेस आफ्नो पक्षमा जित निकाल्ने रणनीतिका लागि चुनाबी प्रचार प्रशार अभियानमा सक्रिय हुन थालेको छ ।