बुटवल , पुस २४ । लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले बिहीबार सपथ ग्रहण गरेका छन् ।
नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीवार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष सपथ ग्रहण गरेका हुन ।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष सपथ ग्रहण गरेका हुन ।
नव नियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष सपथ ग्रहण गरेका हुन ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथ ग्रहण गरेका हुन ।
त्यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्ने प्रावधान छ ।
सोही अनुसार नवनियुक्त सदस्य तारा प्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनियताको सपथ गराएका थिए ।
नव नियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँचीका हुन ।