
शंकर केसी,
सल्यान, असार २९ । सल्यानको कुपुरकोट गाउँपालिकाले २८ करोड ३३ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६ ÷ ०७७ को लागी कपुरकोटले २८ करोड ३३ लाख रुपैंया बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तिला बुढामगरले आइतबार प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार तर्फ ६ करोड १३ लाख ५० हजार विनियोजन गरिएको छ । जो कुल पूजिगत बजेटको ४६.२६ प्रतिशत हो ।
सडक, यातायात तथा सञ्चार क्षेत्रको विकासको लागि १ करोड ६७ लाख, गाउँपालिका भवन निर्माण क्रमागत शिर्षकमा २ करोड, संघ तथा प्रदेश संगको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गर्न ४० लाख रुपैंया विनियोजन भएको छ । ग्रामिण विद्युतिकरण क्रमागत कार्यक्रमका लागि १ करोड ५० लाख रुपैंया विनियोजन गरेको छ । त्यस्तै थोरै घर धुरी रहेका र विद्युतको लाइन पु¥याउन नसकिने ठाउँहरुमा वैकल्पिक उर्जा जडान गर्न १० लाख विनियोजन गरिएको छ । विद्यालय तर्फ कालिका मावि पूर्वाधार निर्माणमा २० लाख, जीवनज्योति मावि पूर्वाधार व्यवस्थापनको लागि ७ लाख तथा कपुरकोट बहुमुखी क्याम्पस पूर्वाधार निर्माणमा १० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले पूँजिगत बजेटको २६ प्रतिशत रकम सामाजिक विकासमा विनियोजन गरेको छ । उक्त शिर्षकमा ३ करोड ४३ लाख २५ हजार रहेको छ । त्यस्तै शिक्षा, युवा तथा खेलकुदका लागि १ करोड, स्वास्थ्य तथा पोषणको क्षेत्रमा ४५ लाख, पूर्ण सरसफाई युक्त गाउँपालिका निर्माणको लागि १० लाख, खानेपानी तर्फ ७३ लाख र वालवालिका तथा जेष्ठ नागरिक तर्फ २० लाख तथा ‘दिदी वहिनीसंग उपाध्यक्ष’ कार्यक्रम गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै ‘संस्कृतिको संरक्षण, हाम्रो पहिचान’ कार्यक्रमको लागि ५ लाख रुपैंया विनियोजन भएको छ ।
आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रको विकास गर्न ४५ लाख, पशु विकास कार्यक्रमका लागि ३० लाख र उद्योग, वाणिज्य तथा पर्यटन विकास तर्फ २० लाख रुपैंया विनियोजन गरिएको छ । त्यस्तै वन, वातावरण, भूसंरक्षण तथा विपद व्यवस्थापन क्षेत्रगत योजना कार्यक्रममा ४४ लाख २५ हजार विनियोजन गरिएको छ । सार्वजनिक सेवा, संस्थागत क्षमता विकास, सुशासन र सुदृढिकरण क्षेत्रगत योजना कार्यक्रममा ८४ लाख रुपैंया विनियोजन गरेको छ ।
गत असार १० गते गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिए ।
कपुरकोट गाउँपालिकाले संघीय सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट ८ करोड ४ लाख, कर्णाली प्रदेश सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट १ करोड २९ हजार, संघीय सरकार राजश्व बाँडफाँड शिर्षकबाट ६ करोड ४३ लाख, कर्णाली प्रदेश सरकार राजश्व बाँडफाँड शिर्षकबाट ७ लाख ३ हजार, संघीय सरकार सशर्त अनुदान शिर्षकबाट ९ करोड ६३ लाख, आन्तरिक राजश्व बाट २५ लाख प्राप्त हुने र संचित कोषमा गत बर्षको मौज्दात २ करोड ९० लाख ६८ हजार रुपैंया रहने अनुमान गरिएको छ ।
