दाङ, कात्तिक १२ । सुर्खेतमा काकाको हत्या आरोपमा भतिजा पक्राउ परेका छन् ।
जिल्लाको चौकुने गाउँपालिका – ७ गुटुका २१ बर्षीय भुवन धमलाको हत्या आरोपमा २० बर्षीय भतिजा हेमन्त भनिने हिराप्रसाद धमला पक्राउ परेका छन् ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कात्तिक ३ गतेदेखि काका भुवन र भतिजा हेमन्त संगै चौकुने – १० को घाटगाउँमा लाग्ने भुवा मेला हेर्न भनेर घर बाट गएका थिए । त्यसपछि भने भुवन घर फर्किएका थिएनन् ।
घर परिवारले सोध्दा हेमन्तले काका भुवन मेलामा केटी संग लागेको र त्यसपछि आँफुलाई थाहाँ नभएको भनेर ढाँट्दै आएका थिए । साथै हमेन्तको निधारमा चोट पटक पनि देखिएको थियो ।
भुवनका घर परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा पुगेर खोजीमा सहयोग गरि दिन भनेर निबेदन दिए पछि उनको खोजी सुरु भएको थियो ।
प्रहरी र आफन्तले खोजी गर्ने क्रममा कात्तिक ७ गते बिहान ११ तिर चौकुने – १० तामाधारा खोलाको ताताथाई भन्ने स्थानमा भुवनको शब फेला परेको थियो ।
प्रहरीका अनुसार मृतकको शरिरको विभिन्न भागमा चोट पटकहरु लागेको अवस्था थियो । उनको कसैले हत्या गरि शब फालेको आशंकामा प्रहरीले थप खोज तथा अनुसन्धान गर्ने क्रममा शब फेला परेकै जंगल तथा खोला क्षेत्रमा हेमन्तले लगाउने ज्याकेट फालेको अवस्थामा फेला परेको थियो । जुन ज्याकेटमा रतगका खतहरु थिए ।
त्यसपछि प्रहरीले आशंका लागेर संगै मेला हेर्न भनेर गएका भतिजा हेमन्तलाई प्रहरीले घटना अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा बाटोमा आँफु संग बिबाद भएपछि आँफैले ढुँगाले हानेर काकाको हत्या पछि फसिने डरले शब जंगल क्षेत्रमै लुकाएको बयान गरेको प्रहरी प्रबक्ता बुढथापाले बताए ।
प्रहरीका अनुसार मेला हेर्न जाने क्रममा हेमन्त मदिराले मातेको सम्म खुलेको छ । मातेका हेमन्तले काका भुवन संग बाटोमा बिबाद झिक्दै कुटाकुट भएको र सोही क्रममा आँफुले ढुँगा प्रहार गरि हत्या गरेको बयान गरेका छन् ।
प्रहरीले भुवन हत्या बारे थप अनुसन्धान भइ रहेको बताएको छ ।