तुलसीपुर, असोज १७ । दशैंका दिन बेलुकी मोटरसाइकलको ठक्कर बाट तुलसीपुरमा एक ब्यक्तिको मृत्यु भएको थियो ।
तर, घटनाको २४ घन्टा बित्नै लाग्दासमेत हालसम्म ठक्कर दिने मोटरसाइकलको पहिचान हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार असोज १६ गते तुलसीपुर उपमहानगरपालिका – १२ हरिपौरीमा ६५ बर्षीय सन्तु चौधरीलाई ठक्कर दिएर अल्फाबेट नखुलेको एउटा मोटरसाइकल भागेको थियो ।
राप्ती राजमार्ग अन्तरगत हरिपौरीमा बेलुकी साढे ७ बजेतिर पैदल हिडिरहेका चौधरीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल स्थानीयले देखेपनि भुसमुसे साँझ परि सकेको हुँदा राम्रो संग नम्बर पहिल्याउन सकेनन् । जुन मोटरसाइकलमा दुई जना सवार थिए ।
टाउकोको पछाडि गम्भीर चोट खेपेका चौधरीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याउँदा चिकित्सकले बेलुकी ८ बजेतिर मृत घोषणा गरेका थिए ।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार मृतक चौधरीको घाउ खत नियाल्दा सुरुमा मोटरसाइकलको लेग गार्डले खुट्टामा ठक्कर दिएको र त्यसपछि उनी सन्तुलन गुमाउन पुगि उत्तानो मुखी सडक खण्डमा बजारिएको अनुमान गरिएको छ । मृतक चौधरीको टाउको पछाडि गम्भीर चोट पटक थियो ।
चौधरीलाई ठक्कर दिने मोटरसाइकलको खोजी कार्य जारी रहेपनि हालसम्म फेला पर्न नसकेको डिएसपी पराजुलीले बताए ।