२०८३ असार २ गते मङ्गलवार

तुलसीपुरको खण्डहरु सभाहलमा सर्बदलिय बैठक

तुलसीपुर, भदौ ३१ । तुलसीपुर उपमहनगरपालिकाको आगजनी पछि खण्डहर जस्तै बनेको भवनमा सर्वदलिय बैठक बस्यो । यो सर्वदलिय बैठक त्रिपालबाट भएपनि सेवा सुरु गरिएको बारे जानकारी दिनका लागि आयोजना गरिएको थियो ।

बिषम परिस्थितिमा उपमहागनरपालिका सबै दलहरुको साथ समर्थन जुटाउन र उनीहरुका सल्लाह पनि चाहान्थ्यो ।

मंगलबार बिहान सुरु भएको बैठकको सुरुमै मेयर टीकाराम खड्काले सर्वदलिय बैठकको सम्बोधन गरे । ‘यतिखेर डराएर काप्ने होइन सेवा सुरु गर्ने हो । शान्ति र सदभाव कायमै राख्दै अगाडि बढ्ने हो,’ मेयर खड्काले भने ‘यर्थाथमा जनताले आफ्नो सम्पत्ति आँफैले जलाउने गलत काम गरेका छन् ।’

बढी क्षति पुगेका चार वडा वडा बाहेक अन्यमा सोमरबारदेखि सेवा सुरु भएको र पालिकामापनि त्रिपाल टाँगेर भएपनि तत्कालका लागि सेवा सुरु गरिएको हुँदा सबैले साथ सहयोग गर्न मेयर खड्काले आग्रह गरे ।

इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेशकुमार गुरुङले सबै संरचनाहरु जलेर ध्वस्त भएको अवस्थामा तत्काल सेवा प्रवाहको लागि सबैको नैतिक बल तथा सहयोग आवश्यक रहेको बताए ।


अधिबक्ता मोहन धितालले अझैं जनप्रतिनिधिले आम जनताको मन जित्ने गरि सेवा प्रवाहमा जुट्न सुझाए ।
नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालले सार्वजनिक पदमा रहेका सबै सच्चिन जरुरी रहेको बताए ।

जेनजीको नाममा कतिपय ब्यबसायी, एकाध बाहेक सबै दलमा आवद्ध ब्यक्तिहरु तोडफोड र आगजनीमा सामेल भएको पाइएको हुँदा अनुसन्धान गरि कारबाहीको माग गरे ।

नेकपा माओबादी केन्द्रका नगर कमिटी अध्यक्ष मोहन थापाले जेनजीको नाममा घुसपैठ भएको र उनीहरुले नै सरकारी कार्यालयहरु, पार्टी कार्यालयहरु, ब्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र जलाउने काम गरेको हुँदा उनीहरुको पहिचान गरि कारबाही हुनु पर्ने माग गरे ।


नेकपा एमालेका नगर उपसचिव मानबहादुर केसीले जेनजीको आन्दोलनले सच्चिएर अगाडि बढ्न सन्देश दिएको हुँदा हिजोका कमिकमजोरी सुधार्दै सेवा प्रवाह गर्न आग्रह गरे ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जेन्जीको आन्दोलन एक सच्चिने अवशर भएको हुँदा भविश्यमा सबै सेवा प्रदायक संस्थाहरुले आँफुलाई सच्चाउन र आम मान्छेको सेवामा ध्यान दिन जरुरी रहेको बताए ।

आगजनीबाट तुलसीपुर क्षेत्रका सबै सरकारी कार्यालयहरु नष्ट पारिएको हुँदा तत्काल सेवा प्रवाहको लागि उद्योग वाणिज्य संघको तल्लो तला र दोघरेस्थित लुम्बिनी प्रदेश तेक्वान्दो संघको सभाहल प्रयोग गर्न दिन सकिने बताए । त्यस्तै उनले पुर्नं निर्माणका लागि निजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताए ।

उच्च अदालत तुलसीपुरका बाइ इकाइ अध्यक्ष मधुसुदन गौतमले डिजिटल सेवा प्रवाहका लागि कम्प्युटर तथा आवश्यक सबै सामाग्री नष्ट भएका तथा झ्याल, ढोका, दराज जस्ता चिज बस्तुपनि नबचेको हुँदा रातिको सुरक्षा प्रबन्ध चुस्त राख्न आग्रह गरे ।


नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष ओपेन्द्र बस्नेतले आफ्नै घर जोगाउन नसक्नु बिडम्वना मान्नु पर्ने बताए ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्व अध्यक्ष खेमराज वलीले जेन्जीको नाममा ठूलो घुस पैठ भइ सरकारी तथा निजी सम्पत्ति ध्वस्त पार्नेहरुलाई कारबाही हुनुपर्ने माग गरे ।


चेम्बर अफ कमर्षका दुर्गा शर्मा, उपेन्द्र दाहाल लगाएतले बोलेका थिए । इलाका प्रहरी कार्यालय तुलसीप्ुरका प्रमुख डिएसपी अनिल ठकुरीले तोडफोड र आगजनीमा संलग्नहरुका प्रमाण संकलन गर्ने कार्य जारी रहेको बताएका थिए ।

बैठकले असोज ३ गतेका दिन तुलसीपुरका चोकहरुमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *