दाङ, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा कर्णाली प्रदेशका विभिन्न दश जिल्लाहरु मध्य सबैभन्दा क्षति प्रदेश राजधानीको केन्द्र सुर्खेतमा भएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित कर्णाली प्रदेशसभा, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा आगजनी गरिएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिको कार्यालय, झुप्रा बृहत खानेपानीको कार्यालय, सिटी हल, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यान्याधिवक्ताको कार्यालय, १६ वटा वडाहरु रहेको वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ का वडा कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।
त्यस्तै उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, श्रीकृष्ण तथा साधारण माध्यामिक विद्यालय, मुख्यमन्त्री, कृषिमन्त्री, भौत्तिक मन्त्री निवास, हिमाली पुस्तकालय वीरेन्द्रनर, नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखा लगायतका सार्वजनिक कार्यालयहरुमा तोडफोडसँगै आगजनी भएको छ ।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको गरि पाँच वडा राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
नेपाली कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगरका नगर प्रमुख मोहनमायाँ ढकाल र उपप्रमुख निलकण्ठ खनालको निजी निवास, पूर्णका भाइ तथा प्रदेश अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्काको निवास, विष्णु खड्काको माया पेट्रोल पम्पमा तोडफोड सँगै आगजनी गरिएको छ । प्रदेश सभामा रहेको एनआइसी एसिया बैंकको एटिएम समेत तोडफोडसँगै आगजनी गरिएको छ ।
त्यस्तै सुर्खेतमा मात्रै आगजनीका कारण ११ सरकारी गाडी र आठ मोटरसाइकलमा क्षति पुगेको छ । निजी सवारी अन्तर्गत दुई गाडी र पाँच मोटर साइकलमा क्षति पुगेको छ ।
सुर्खेतको तुलनामा कर्णालीका अन्य जिल्लाहरुको क्षति सामान्ने छ । उच्च हिमाली जिल्लाहरुमा एउटा ढुँगापनि प्रहार भएको छैन ।
प्रदेशभर सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० वटा संरचनामा ढुँगा मुढा र तोडफोड भएको छ ।
त्यस्तै सरकारी र निजी गरी ४५ सवारी साधनमा तोडफोड तथा आगजनी भएको छ ।
प्रदेशका दश जिल्लाहरु मध्ये सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, संस्थाका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, सरकारी निवास र जनप्रतिनिधिका निजी निवासहरुमा तोडफोड भएको पाइएको छ ।
जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुमपश्चिममा आन्दोलनकारीहरुले प्रदर्शन गरेपनि सार्वजनिक र निजी सम्पत्ति तोडफोडका घटना भएका छै्रनन् ।
कालिकोटमा आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका गरी सात पार्टी कार्यालयमा तोडफोड गरेका छन ।
मुगुमा नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालय सामान्ने क्षति छ । पर्दशनकारीले छायाँनाथ रारा नगरपालिकामा नगर प्रमुखको कार्यकक्ष भित्र पसेर राष्ट्रपति र तत्कालिन प्रधानमन्त्रीको फोटो जलाएका थिए ।
