२०८३ बैशाख १४ गते सोमवार

सुशीला कार्की बनिन् पहिलो महिला प्रधानमन्त्री


काठमाडौं,भदौ २८। जेनजी आन्दोलनसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन्।

दुई दिनयताको लामो कसरतपछि र जेनजीको अडानसँगै कार्की शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राती नै कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन ।

आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराएका हुन्।

जेनजीको आन्दोलनका कारण कांग्रेस एमालेको दुई तिहाइको सरकार ढलेपछि ६ महिनाभित्र चुनाव गराउने शर्तमा उनी प्रधानमन्त्री नियुक्त भएकि हुन।

कार्कीलाई राष्ट्रपति पौडेलले संविधानको धारा ६१ उद्धृृत गर्दै नियुक्त गरेको राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेले जानकारी दिए । जुन प्रधानमन्त्री नियुक्त गर्ने धारा होइन।

धारा ६१ को उपधारा ४ मा राष्ट्रपतिले पाएको जिम्मेवारीका आधारमा कार्की नियुक्त भएकी हुन्। ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन कुरा उल्लेख छ।

जहाँ भनिएको छ, ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।’

त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।

२००९ जेठ २५ गते विराटनगरको तत्कालीन वडा नम्बर ३ मा जन्मिएकी कार्की २०७३ साल असार २७ गते मुलुकको प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन्।

नेपाली न्यायक्षेत्रमा प्रधानन्यायाधिश हुने क्रममा कार्की पहिलो महिला हुन्। तत्कालीन समय प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गरेको थियो।

२०७४ जेठ सम्मका लागि प्रधान्यायाधिशको जिम्मेवारीवहन गरेकी कार्की न्यायपालिकाभित्र भ्रष्टाचारविरुद्ध कामका लागि परिचित छिन्।

कार्कीले विराटनगरकै महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बिए अध्ययन गरेकी हुन्। त्यससँगै उनले भारत बनारसस्थित हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिक शास्त्रमा एमए गरेकी छन्। यद्यपि, २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक पूरा गरेपछि कार्कीको कानुनी क्षेत्रमा पाइला अघि बढेको हो।
कार्कीले अधिवक्ताका रुपमा २०३५ साल चैतबाट काम सुरु गरेकी हुन्।

कामसँगै उनले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा २०४२ सालदेखि ३ वर्ष अध्यापनसमेत गरेकी छन्। धरानपछि विराटनगरमा पुनरावेदन अदालत स्थान्तरण भएसँगै कार्की पुनः विराटनगरको कोशी अञ्चल बारको अध्यक्षसमेत रहिन्।

०६१ साल पुसमा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन्। सोही क्रममा उनी सर्वोच्च अदालतको २०६७ साल मंसिरमा स्थायी न्यायाधीश भएकी हुन्।

उनका श्रीमान् दुर्गा सुवेदी नेपाली इतिहासको पहिलो हवाई अपहरणका एक अहं पात्र रहेका थिए। २०३० साल जेठ २८ गते सुवेदीसहित वसन्त भट्टराई, नगेन्द्र ढुंगेलको टोलीले करिब ३० लाख भारतीय रुपैयाँसहित विमान अपहरण गरेका थिए।

विराटनगरबाट अपहरण गरिएको विमान भारतको विहारस्थित फारविसगञ्जमा अवतरण गरेको २७ मिनेटमै फिर्ता आएको थियो। कार्कीको हाल विराटनगरस्थित वडा नम्बर ८ मा घर रहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *