तुलसीपुर,भदौ २७ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले तोडफोड र आगजनी बाट ध्वस्त पारिएका संरचना देखेर आँफु निकै दुःखी भएको बताएका छन् ।
शुक्रबार सार्वजनिक अपिल जारी गर्र्दै उनले जेनजीको नाममा भएको तोडफोड र आगजनीको परिपुरन गर्न बर्षौैं लाग्ने बताएका छन् ।
बिगतमा बजारमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता अन्त्य गर्न बिभिन्न वडा कार्यालयहरु निर्माण गरिएपछि विध्वँसले गर्दा फेरि पुरानै अवस्थामा फर्किनु पर्ने बाध्यता आइ लागेको बताएका छन् ।
तर, उनले अन्त्यमा मातृभूमिलाई साच्छी राखेर खरानी हातमा लिएर ध्वस्त संरचना मिलेर बनाउने र फेरि उभिने संकल्पपनि गरेका छन् । त्यसका लागि उनले जेनजी पुस्तामा पनि आग्रह गरेका छन् ।

नगर प्रमुख खड्काको अपिल जस्ताको त्यस्तै
१ –आदरणीय नगरबासी बुबा आमा, संविधानमा संघीयता आएको थियो, नया संरचनाहरु थिएनन, सबै संरचनाहरु पुरानै थिए । स्थानीय सरकारकारुपमा हामीले गर्नुपर्ने काम र जनताका अपेक्षाहरु अति धेरै थिए । सीमित बजेटका बीचमा हामीले तुलसीपुरको प्रशासनीक र वडा कार्यालयहरुलाई नागरिकहरुले सहजै सेवा प्राप्त गर्ने गरी निर्माण गरेका थियौ ।
स्थानीय सरकारसँग बजेटको अभाव हुने भएकाले विभिन्न संरचनाहरु भिन्न भिन्न निकायहरु गुहारेर मेरै कार्यकालमा तुलसीपुरको प्रशासकीय भवन र धेरै वडा कार्यालयहरु निर्माण र पुनर्निर्माण भए ।
भलै कोरोना महामारीका कारण उक्त भवनमा म आफु बसेर सबै सेवा सुरु भएन तर पनि बजारका विभिन्न ठाउँमा साना–साना कोठा खोजेर शाखाहरु राख्नुपर्ने बाध्यताको अन्त्य भएर नागरिकहरुले एकै ठाउँबाट सेवा पाउने सहजता भएको थियो ।
वडा कार्यालयहरुले वडामै सबै खालको सेवा दिने गरी संरचनाहरु निर्माण भएका थिए । आज सबै खरानी भएको छ । यसबाट म दुःखी र मर्माहत भएको छु । हामी फेरि बजारमा छरिएर कोठा खोज्दै शाखाहरु स्थापना गर्ने ठाउँमा फर्किएका छौ ।
२– त्यति मात्रै होइन तुलसीपुरलाई आधुनिक सहरको रुपमा पहिचान दिनका लागि व्यापारीक कम्प्लेक्सहरु र स्थानीय उत्पादनको एकीकृत बजार तथा बिक्री केन्द्रको आवश्यकता थियो । निजी क्षेत्रबाट यसखालको कम्प्लेक्स निर्माणका लागि पहलकदमी हुन नसकेपछि नगर विकास कोषसँगको सहकार्यमा तुलसीपुरको पहिचानकारुपमा तुलसी टावर निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको थियो ।
यो निर्माण गर्दा मैले अनेक खालका नकारात्मक टिकाटिप्पणीको सामना गर्नु परेको थियो । तर एकदिन अवश्य पनि यसले तुलसीपुरको व्यवसाय र स्थानीय युवाहरुमा उद्धमशिलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास थियो । यसको निर्माण सम्पन्न भए सँगै विभिन्न व्यवसायीहरु यसतर्फ आकर्षित हुनुभएको थियो ।
ब्यवसायीहरुमा उर्जा र उत्साह पलाएको थियो । यो पनि तोडफोड भयो । ठूलो क्षति भयो । सञ्चालनको मुखैबाट हामी फेरि पछाडि फर्कने भयौ ।
तुलसीपुर अटो भिलेजलाई व्यवस्थापन गरेर आधुनिक र व्यवस्थित वसपार्क निर्माण गरेका थियौ । यसले तुलसीपुरको पहिचान दिएको थियो । केही थप काम गर्न बाँकी पनि थियो । तर यो पनि पूर्णता नपाउँदै नष्ट भएको छ । यी सबै तुलसीपुरका सपनाहरु थिए । यसले सबैको मन दुखेको छ । पहलकदमी लिएका कारणले मेरै झनै मन दुखेको छ ।
३– तुलसीपुरका अन्य सरकारी कार्यालय, न्यायालय, निजी व्यवसाय र भवन लगायतमा क्षति गरियो । यो क्षतिको असर हामीले लामो समयसम्म खेप्नुपर्ने निश्चित छ । जेनजीले गरेको आन्दोलनप्रति मेरो केही प्रश्न छैन । सुशासन, समावेशिता र अभिव्यक्ति स्वतन्त्रताप्रति मेरो साथ र समर्थन छ । तर के विध्वंशको हद नाँघेर गरिएको यो आन्दोलनले ल्याउने परिवर्तनबाट अहिले भएको क्षतिको पुर्ति हुन सक्छ ?
संरचनाहरु त बन्लान तर हाम्रा इतिहास बोकेका दस्तावेजहरु कहाँ पाइएला ? आन्दोलनका क्रममा केही न केही त क्षति हुन्छ नै तर यसरी सार्वजनिक र निजी सम्पत्तिमाथि एकैपटक भएको यो क्षतिले हामीलाई दशौ वर्ष पछाडि धकेल्ने निश्चित छ ।
४ – आगो निभाउने तुलसीपुरको दमकल आफै बलेको छ । बालबालिकाहरुलाई लगाउने खोपहरु जलेर नष्ट भएको छ । निजी व्यवसायीहरुमा उत्साह हराएको छ । कर्मचारीहरुमा काम गर्ने जाँगर छैन । महत्वपूर्ण दस्तावेजहरु केही पनि बाँकी छैनन ।
तुलसीपुरबासीको अनुहारमा नैराश्यता पोतिएको छ । देशकै मुख्य केन्द्रहरु जलेर ध्वस्त भएका छन । हामीले गर्व गर्ने इतिहास र दस्तावेजहरु खरानी भएका छन । यी निराशाहरुलाई हामीले कनिकुथी आशामा बदल्नु छ ।
प्रिय जेनजी पुस्ता – तपाईहरुको परिवर्तनप्रतिको अपेक्षालाई प्रशंसा गर्छु तर त्यो प्राप्तिको लागि तपाईहरुको आवेगमा या घुसपैठमा जे भयो त्यो कत्ति पनि राम्रो भएन । तपाईका आवाजहरुलाई दवाएर यो विध्वशंको आवाज घन्काउनेहरुको पहिचान गरौ । जति खरानी भएपनि उभिनु नै छ । अब उभिने प्रयास गरौ ।
आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धान्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
जेनजी पुस्ताका माग सम्बोधन गर्ने र सँगै रहेर राष्ट्रले भोगेको अकल्पनिय नोक्सानीको पुनर्णिर्माण गर्ने कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । इतिहासको यस कठिन घडिमा सबैले मातृ भूमिको माटो र ध्वस्त धरोहरको खरानी मुठ्ठीमा लिएर वाचा गरौ, संकल्प गरौ – हामी फेरि उठ्छौ र हाम्रा धरोहरको पुनः निर्माण गर्छौं ।
निराशाहरुलाई आशाको घाम देखाउ छौं । नेपाल र नेपालीको पहिचान जोगाउछौ । यस महान यात्रामा सहकार्य र सहयोग गर्न सबैमा हार्दिक अपिल गर्दछु ।
धन्यवाद ।
टीकाराम खड्का
नगरप्रमुख
तुलसीपुर उपमहानगरपालिका ।
