घोराही, साउन १८ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट व्यूरो सदस्य समिर केसीले अहिलेको संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद रहेको बताएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला कार्यसमिति दाङले आइतबार घोराहीमा आयोजना गरेको ‘भ्रष्टाचार विरोधी अभियान’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका चार नम्बर ब्यूरो सचिवसमेत रहेका केसीले त्यस्तो बताएका हुन ।
उनले देशमा लामो संघर्ष र बलिदानीबाट नयाँ व्यवस्था स्थापना भएपनि अहिले सिंगो व्यवस्था अरुको कब्जामा पर्दा नेपाली जनताको उत्पिडन अन्त्य हुन नसकेको र भ्रष्टाचार, बेथिति मौलाएको बताए ।
अहिलेको संसदीय व्यवस्था अन्त्य गर्दै देशमा वैज्ञानिक समाजवाद लागू गर्न सबै जागरुक हुनुपर्ने बेला आएको उनले बताए ।
केसीले नेतृत्व तहबाट नैतिक मूल्य चुक्दै गएको र जनताका आधारभूत आवश्यकतामा ध्यान नपुगेको भन्दै संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद स्थापनानै भएको जिकिर गरे ।
अपवाद बाहेक अधिकांश नेता, कार्यकर्ता भ्रष्टाचारबाट मुक्त हुन नसकेको अवस्थामा देशले निकास पाउन नसकेको, राज्य स्रोतको दोहनबाट विकासमा गम्भीर असर पुगेको केसीले बताए ।
देशलाई सधैका लागि भ्रष्टाचारबाट मुक्त गर्न आफ्नो पार्टीले थालनी गरेको देश व्यापी भ्रष्टाचार विरोधी अभियानले संघीय जनगणतन्त्रको खुड्किलो पार गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने संकल्प लिएको पनि उनले बताए । वैज्ञानिक समाजवादले मात्रै भ्रष्टाचारको पूर्ण उन्मूलन गर्ने उनको दावी थियो ।
कार्यक्रममा पार्टी जिल्ला सचिव ईश्वरी गैरेले दाङमा पछिल्लो समय भएका विकृति, बेथिति र भ्रष्टाचारका घटना सार्वजनिक गर्दै घटना प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
त्यस अवशरमा विभिन्न पार्टी परित्याग गरी ३४ जनालाई पार्टीमा प्रबेश गरेको जिल्ला सचिव गैरेले बताए ।
पार्टीका केन्द्रीय समिति सदस्य शशीराम बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण जिल्ला सदस्य तिलक बिकले गरेका थिए ।
