
दाङ,असार २२ । सल्यानमा ट्रक दुर्घटना हुँदा दश जना घाईते भएका छन् । दुर्घटनाका घाइते मध्य सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं. २ निवासी ५३ बर्षीय दुर्गाबहादुर बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
रुकुम पूर्वदेखि दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ४ ख ९७११ नम्वरको ट्रक सोमवार विहान १० बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ३ बाँसखोलीको मोडमा दुर्घटना हुँदा ट्रकका चालक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ तुलसीपुर निवासी २६ बर्षीय ताराबहादुर खड्का, सोही ठाउँ निवासी सहचालक २० बर्षीय यज्ञबहादुर खड्का, तुलसीपुर ५ का ३८ बर्षीय मानबहादुर पुन घाइते भएका छन् ।
त्यस्तै सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३० निवासी ३० बर्षीय छवि विक, उनका ११ बर्षीय छोरा प्रविण विक, जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ लान्टी निवासी ४० बर्षीया नविना खत्री, शारदा नगरपालिका वडा नं. १५ निवासी ४२ बर्षीय उपेन्द्र रावत, बागचौर नगरपालिका वडा नं. ३ निवासी ३८ बर्षीय गीता रेउले र शिद्धकुमाख गाउँपालिका वडा नं. २ निवासी ६६ बर्षीय दलबहादुर बोहोरा घाइते भएका छन् ।
घाइते मध्य २ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ भने चालक र सहचालकको कपुरकोटमा उपचार भइरहेको छ । अन्य घाइतेहरुलाई भने थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार स्टेरिङ फेल भएको हुँदा ट्रक दुर्घटनामा परेको थियो । ट्रक खाली अवस्थामा दाङ आउँदै थियो ।