
तुलसीपुर, असोज २२ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले मंगलबार कार्यलयमा दशैैं मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुरका मेयर टीकाराम खड्काले अबको ६ महिनाको अबधिमा बबई नदीबाट खानेपानी लिफ्टिङ गरि बजारमा ल्याउन सके त्यसबाट उपभोक्ता धेरै लाभान्बित हुने आशा ब्यक्त गरे ।
उत्तरमा मुल सुक्दै जानु र नयाँ पानीका मुहानहरु खेजी गर्दै जाने क्रममा बबई नदी मात्रै बिकल्पका रुपमा फेला परेको हुँदा त्यहीबाट पानी लिफ्टिङ गर्नु परेको मेयर खड्काले बताए ।
घोराहीले पनि त्यसै गरि रहेको हुँदा बबई पनि सुकेमा भविश्यमा के हुने ? भन्ने बारेमा भने अनिश्चिता भने मेयर खड्काले ब्यक्त गरे ।
सकुमबासी र भूमीहिनहरुलाई राज्यले छुट दिदै आएको भन्दै खानेपानीले पनि बिषेश छुट दिनुपर्ने मेयर खड्काको धारणा थियो । कोहीपनि खानेपानीबाट बञ्चित हुन नहुने भन्दै अरुलाई धारा जडान शुल्क २५ हजार लाग्छ भने सुकुमबासी र भूमिहीनहरुलाई ५ हजार जतिमा जडान गर्ने ब्यबस्था मिलाउन आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तिलक न्यौपानेले बबई नदीको लिफ्टिङ प्रर्णाली तुलसीपुरको एउटा महंगो भएपनि बजार बासीलाई पानी खुवाउनका लागि त्यसको बिकल्न नरहेको बताए । न्यौंपानेले लिफ्टिङ बाफत मासिक दश लाख बिद्युतको बिल मात्रै उठ्न सक्ने संभावना औंल्याए ।
पूर्व साना सहरी खानेपानी तथा सरसफाई आयोजना प्रमुख चोकप्रशाद धितालले ३८ सालतिर स्थापना भएको तुलसीपुर खानेपानीले यहाँ सम्म आइपुग्दा थुप्रै प्रगती गरेको र बबईको लिफ्टिङ आयोजना सफल भए पानी बितरण पर्णाली थप सजह हुने आशा ब्यक्त गरे ।
तुलसीपुर खाने पानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दामोदर भण्डारी, नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमाले नगर कमिटी अध्यक्ष रुपबहादुर खत्री, नेकपा माओबादी केन्द्रका नगरकमिटी अध्यक्ष मोहन थापा, नेकपा क्रान्तिकारीका खुशिराम बुढाथोकी, राप्रपाका श्रीमणि न्यौंपाने, राष्ट्रिय जनमोर्चाका नगर सचिव उत्तम भण्डारी लगाएतले सर्वसुलभ रुपमा पानी बितरणमा ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रमलाई तुलसीपुर – १८ का वडाध्यक्ष माधव वली, तुलसीपुर – ६ का अध्यक्ष दुजमान भण्डारी, नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरी लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सहजीकरण खानेपानी कर्मचारी युनियनका अध्यक्ष सुशिल श्रेष्ठले गरेका थिए ।
यतिखेर बबई नदीको सितलपुर क्षेत्रबाट तुलसीपुर बजारसम्म धमाधम पाइप बिच्छाउँदै आइएको छ । झन्डै ११ किलोमिटर पाइट बिच्छाएर सकिएको छ । केी ठाउँमा छोडेर सितलपुरबाट तुलसीपुरको गुम्ह्रा चोक नजिकैसम्म पाइप बिच्छाइ सकिएको छ ।
भिमेश्वर ड्रिलिङ एण्ड कम्पनीले बुटवलले टेन्डर पारेपछि २०७९ असार २९ गते काम गर्ने गरि सम्झौंता गरेको थियो । साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको ६० करोडको लागतमा टेन्डर आह्वान भएपनि भिमेश्वरले झन्डै ५७ करोडमा टेन्डर सकारेको थियो ।
लगतै काम थालेको उक्त कम्पनीले हालसम्म ६० प्रतिसत काम पुरा गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कोषाध्यक्ष भोला थापाले बताए ।
