काठमाडौं,असार ९ । टी-२० विश्वकपअन्तर्गत ‘सुपर आठ’ मा लगातार दोस्रो जित निकाल्दै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
शनिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो।
समूह ‘एक’ अन्तर्गत आइतबार बिहान जारी खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएमा भारत र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउने छन्।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। जवाफमा बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो।
बंगलादेशका लागि कप्तान नजमुल होसेन सान्तोषले ४० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक तनजित हसनले २९ रन बनाउँदा लिटन दासले १३ रन बनाए।
त्यस्तै, रिसद होसेनले २४ रन बनाए। भारतका लागि कुलदिप यादवले ३ विकेट लिँदा अर्सदीप सिंह र जसप्रित बुमराहले २-२ विकेट लिए। थप एक विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दीक पाण्ड्याले ५० रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै, ऋषभ पन्तले ३६ रन बनाउँदा विराट कोहलीले ३७ रन बनाए।
त्यसअघि कप्तान रोहित शर्मा २३ रनमा आउट हुँदा शिवम् दुवेले ३४ रन बनाएका थिए। बंगलादेशका लागि रिसद होसेन र तनजिम हसन सकिबले समान २-२ विकेट लिए। अर्को एक विकेट सकिब अल हसनले १ विकेट लिए।