तुलसीपुर, जेठ २१ । शनिबार बेलुकी आएको हावा हुरीले तुलसीपुर उपमहानगरपालिका– १६ जहदा गाउँस्थित ‘बुढाथोकी बहुउद्देश्यीय कृषि पशुपन्छी तथा माछापालन फर्म’ क्षति पुगेको छ ।
फर्म संचालक टोपबहादुर बुढाथोकीका अनुसार हावाहुरीका कारण फर्मको जस्तापाता उडाइ लगेको छ । गोठ भत्किदा एउटा बाख्रा मरेको छ भने अर्कौ एउटा भैंसी घाइते छ ।
बिगत ७ महिना पहिले फर्म सुरु गरेका बुढाथोकी फर्ममा हाल ४५ वटा खसी बाख्रा र ६ वटा दुहुना भैंसी छन् ।
गोठ भित्र राखेको भुसका कारण अन्य बाख्राहरु जोगिएको बुढाथोकीले फरककोण्लाई बताए ।
तुलसीपुर– १२ टरिगाउँका बुढाथोकीले करिब १ बिगाहा क्षेत्रफलमा फर्म संचालन गरेका छन् । त्यो जग्गा मध्य ११ कठ्ठा उनको आफ्नै जग्गा हो भने थप ९ कठ्ठा जग्गा बार्षिक २२ हजार भाडा दिने सर्तमा लिएका छन् ।
त्यसभित्र बुढाथोकीले दुई वटा माछा पोखरीपनि छन् । खसी बाख्रा, भैसी खरिददेखि माछा पोखरी निर्माण गर्न झन्डै ९५ लाखका हाराहारी खर्च लागेको बुढाथोकीले बताए ।
शनिबारको हावाहुरीको क्षतिको बिवरण शंकलन भइ रहेको भएपनि लगभग दश लाख बराबर क्षति भएको उनले आँकलन गरे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबारको हावाहुरीले तुलसीपुर क्षेत्रका दश घर, एउटा प्रहरी बिट, दुई वटा बिद्यालय, एउटा स्वास्थ्य चौकी, एउटा बाख्रा फर्म, एउटा फर्निचर उद्योग र दुई वटा गाइ गोठमा क्षति पुगेको छ ।
