दाङ, बैशाख १७ । बझाङको प्रदेश सभा क्षेत्र नम्वर १ को (१) मा भएको उपनिर्वाचनबाट नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन ।
निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै भण्डारी २६६ मतान्तरले विजयी भएका हुन । यद्यपी निर्वाचन आयोगले जितको औपचारिक रुपमा घोषणा हुन बाँकी छ । भण्डारीले ११६१२ र सिंहले ११३४६ मत प्राप्त गरेका थिए ।
छविसपाथिभेरा गाउँपालिका – १ भण्डारी गाउँका स्थायी बासिन्दा ५७ वर्षीय भण्डारी २०५४ मा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । त्यस यता पार्टीले उनलाई अहिले मात्रै टिकट दिएको थियो ।
भण्डारी काठमाडौंमा क्याम्पस पढ्न गएका बखत एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुवाट राजनीति यात्रा थालेका थिए ।
कानुनका बिद्यार्थी भण्डारी अहिले एमाले बझाङका जिल्ला अध्यक्षपनि हुन । भण्डारीको परिवार राजनीतिक पृष्ठभूमीको थियो । उनका बुवा बिगतमा पञ्चायतकालको वडा सदस्य थिए । निर्वाचित भण्डारीले चुनाबी प्रचारप्रशारका क्रममा यही बैशाख ११ गते मात्रै बुवालाई गुमाएका थिए । बुवाको मृत्युको शोकका बीच उनले यतिखेर जित हासिल गरेका छन् ।
२०७९ साल मंसिर ५ गतेको संसदीय चुनावमा अभिषेक सिंहका बुवा पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनको सवारी दुर्घटनामा मृत्यु भएपछि यहाँ फेरि उपनिर्वाचन भएको थियो ।