
दाङ, जेठ १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव दाङमा पनि विहानै देखि परेको छ । दाङमा शैक्षिक संस्था, बजार,कलकारखाना खुलेका छैनन् । फाट्टफुट्ट रुपमा साना सवारी साधान संचालनमा आएको भएपनि लामो दुरीमा चल्ने कुनैपनि सवारी साधन संचालनमा आउन नसकेको यायायात समिति र प्रालीका पदाधिकारीले जानकारी दिएका छन् ।
जेठ ७ गते भोजपुरमा प्रहरीले हानेको गोली लागेर विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएपछि त्यसको विरोधमा विप्लव नेकपाले आज बन्द गरेको छ । उस्ले यसअघि नै विज्ञप्ति मार्फत आजको वन्दवारे अवगत गराएको थियो । बन्दको पूर्व सन्ध्यामा राजधानी काठमान्डौंमा विभिन्न स्थानमा विस्फोटहरु गराउँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रहरीले थप ८ जनालाई पक्राउ गरेको बताएको छ । देशका अन्य विभिन्न भागहरुमा पनि बमहरु फेला परेका छन् ।
पोखराका दुई ठाउँमा बम भेटिएको छ । पोखराको न्युरोड र सृजनाचोक नजिकै शंकास्पद वस्तु भेटिएको हो। पोखराको सृजनाचोक र फिर्केचोकको विचमा एनसेलको कार्यालय नजिकै कुकर बम भेटिएको र त्यसलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।
आइतबार साँझ नै भेटिएको भए पनि राति डिस्पोज गर्दा स्थानीय सशंकित हुने भन्दै अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएको हो ।
एनसेलको कार्यालय नजिकै रहेको कुकर बमलाई प्रहरीले रातिदेखि नै सुरक्षा दिएर राखेको थियो। त्यसैगरी पोखराको दरवारथोक मार्गमा रहेको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा र कास्की अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको छ।

देशका विभिन्न स्थानमा सवारी साधनमा आगजनी
विप्लवका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन्। नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन्।
पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो। ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन्। उनको ढाड र अनुहारमा आगोले पोलेको छ। घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै बिहान ३ ः ३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले नियन्त्रणमा लिएको थियो । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।
बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।हेटौंडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको छ । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ।
त्यस्तै नौं खण्डेमा बास बसेर आज बिहान ४.१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको छ । तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएकोे छ।
विप्लव समूहले पूर्वीसुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन्। हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई निकालेर पेट्रोल छर्केर आगजनी गरेका थिए। आगजनीबाट बस पूर्णरुपमा क्षति भएका छ।
