तुलसीपुर, फागुन १ । तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव–२०८० मा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरेर व्यवसायिक सल्लाह सुझाव लिन चाहनेहरुका लागि प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ ।
यो महोत्सव उद्योग वाणिज्य संघले सञ्चालन गरेको हुँदा व्यवसायसम्बन्धी छलफल, अन्तक्रिया र अनुभव साटासाट गर्न सहज होस् भन्ने उद्देश्यले व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिएको तुलसीपुर उवासंघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेले जानकारी दिए ।
उनले भने– ‘यदि कसैलाई व्यवसायसम्बन्धी केही कुरा जानकारी लिने इच्छा लाग्यो या व्यवसायसम्बन्धी केही जिज्ञासा भए प्रवद्र्धन केन्द्रमा सम्पर्क गर्न सकिन्छ । यस क्षेत्रमा लामो समय व्यवसाय गर्दै आएका व्यवसायीहरुबाट तपाइँहरुका जिज्ञासा सम्बोधन गर्दै आएका छौं ।’
त्यस्तै महोत्सवमा तुलसीपुर उपमहानगरपालिकोको जनस्वास्थ्य प्रवद्र्धन शाखा तथा अन्य स्वास्थ्य लगायतका संस्थाहरुले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा र आवश्यकताका आधारमा सल्लाह सुझाव दिने गरेका छन् ।
महोत्सव आगामी ८ गतेसम्म चल्ने आयोजकले बताएको छ ।
