तुलसीपुर,मंसिर ६ । तुलसीपुर उपमहानगरपालिका– ७ गणेशपुरस्थित शान्ति उद्यानको नाम नसुन्ने सायदै होलान । जस्लाई कुनै समय एशियाकै ठूलो उद्यान भन्ने गरिन्थ्यो ।
दाङसहित छिमेकी जिल्लाहरुको प्रमुख गनतब्य स्थल हो शान्ति उद्यान । एकान्त रुचाउने र कोलाहल दैनिकीबाट रिफ्रेस हुने जिल्लाको प्रमुख उद्यानका रुपमा शान्ति उद्यानको नाम अग्रपन्तिमा आउँछ । पिकनिक खानदेखि शान्ति पार्कमा शान्ति खोज्न जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ ।
पछिल्लो समय यसले धेरैलाई धेरै थरि अवशरहरु जुटाउन थालेको छ । ती नयाँ अबशर मध्य यहाँ आउने मानिसहरुको फोटो खिचेर युवाहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।
तुलसीपुर – ७ का स्थानीय ३५ वर्षीय कृष्ण पोखरेलका लागि पनि आज राप्ती शान्ति उद्यान त्यस्तै एउटा अबशर बनेको छ ।
उनी डिएसलएल क्यामेराबाट उद्यानमा आउने सर्वसाधारणको तस्बिरहरु खिज्दै गरेको भेटिए ।
बिगत छ महिना यता उनको दिनचर्या सोही पार्कमा फोटो खिच्दै बित्ने गर्दछ । घुम्न आएका सर्वसाधारणका फोटो खिच्दै राम्रो आम्दानी भइ रहेको बताउँछन् । एउटा फोटोको उनी १५ रुपैंया लिने गर्छन ।
यहाँ आउनेहरुको फोटो खिच्नु अनि तत्कालै फोटो प्रदान गर्नु उनको काम हो । काम पनि सजिलो र आम्दानी पनि राम्रै हुने भएकोले यो पेसा आफ्नो रोजाइमा परेको उनी बताउँछन । पछिल्लो समय युवा पुस्ताहरुमा फोटो,भिडियो बनाएर फेसबुक–टिकटकहरुमा राख्ने चलन बढ्दै गएको हुँदा त्यसबाट राम्रो रोजगारीको अबसर सृजना भएको उनी बताउँछन् ।
कृष्णले फोटो खिचेर दैनिक ३ हजार देखि ५÷७ हजारसम्म आम्दानी गर्दै आएको बताए । ‘पार्कमै व्यवसायीक रुपमा फोटो खिच्न पाउँदा हामीलाई रोजगारी मिलेको छ भने अर्को तर्फ पार्कको प्रचार पसार सगैँ आम्दानी पनि बढेको छ,’ उनले भने । ’
उनले खिचेका फोटोहरु मोवाइल मार्फत सम्बन्धित ब्यक्तिलाई तत्कालै उपलब्ध गराउने गरेको बताए । फोटो खिचे वाफत पार्कलाई उनीहरु दैनिक तीन सय रुपैया तिर्ने गर्छन ।
केही वर्ष पहिले रोजगारीका लागि साउदी,कतार पुगेर फर्किएका कृष्ण अब भने रोजगारीका लागि बिदेश जानु नपर्ने अवस्था पार्कका कारण सृजना भएको बताउँछन् । थोरै लगानीमा पनि मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ ।
तुलसीपुर–७ कै बिशाल कालाथोकी पनि दिनहुँ गणेशपुर पार्कमा फोटो खिज्दै गरेको भेटिन्छन । उनले पार्कमा घुम्न आउने पर्यटकको फोटो खिच्न सुरु गरेको दुई महिना भएको रहेछ । यस अघि होटलमा अकाउन्टेनको काम गरेका बिशाल अहिले घर नजिकैको पार्कमा पर्यटकहरुको फोटो खिचेर दैनिक दुईदेखि तीन हजारसम्म आम्दानी गर्दै आएको बताए ।
यहाँ आउने पर्यटकहरुका लागि फोटो खिच्ने यी दुई मात्रै छैनन् । राप्ती शान्ति उद्यान पार्कमा हालसम्म त्यसरी फोटो खिच्नका लागि ५१ वटा क्यामेरा म्यानले दर्ता गरेका छन ।
गणेश सामुदायिक वनका उपभोक्ताहरुका लागि यहाँ फोटो खिच्ने अवशर प्रदान गरिएको छ । दर्ता भएका मध्ये ३० देखि ३५ जना फोटोग्राफरले व्यवसायीक रुपमा पार्क भित्रै फोटो खिचेर राम्रो आम्दानी गर्दै आएको पार्क ब्यबस्थापन समितीका सचिब कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए ।
पछिल्लो समय सामाजिक सञ्जालका कारण डिजीटल तस्बिरको प्रयोग बढ्दै गएको छ । पार्क व्यवस्थापन समितिले दैनिक रुपमा फोटो खिच्न आउने फोटो ग्राफरहरुलाई शुल्क तिरेपछि मात्र फोटो खिच्न पाउने व्यवस्था गरेको छ । एउटा क्यामेराको दैनिक तीन सय रुपैया समितिमा जम्मा गरेपछि मात्र अनुमति दिने गरेको सचिव पोखरेलले जानकारी दिए ।
यसले गर्दा अहिले पार्कको आन्तरिक श्रोत पनि बढेको छ । क्यामेराबाट मात्र अहिले मासिक एक लाख ८० हजारदेखि दुई लाख बढीसम्म आम्दानी हुने गरेको उनले बताए । २०५९ साल माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ ।
उक्त पार्कमा पछिल्लो समय दाङ जिल्लासँगै छिमेकी जिल्ला सल्यान,रुकुम,रोल्पा,बाँके बर्दिया,कैलाली,प्युठान लगाए विभिन्न जिल्लाहरुबाट पर्यटकहरु घुम्न आउने गरेको सचिव पोख्रेलले जानकारी दिए ।
पार्कको अवलोकन सगैं बनचोजका लागि कम्तिमा दैनिक चारदेखि पाँच सय र बढीमा एक हजार पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको उनले बताए । पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति प्रबेश शूलक ५० शुल्क निर्धारण गरिएको छ । यसअघि सम्म ३० रुपैंया रहेपनि यही मंसिरदेखि टिकटको दर २० रुपैंया बढाएर ५० रुपैंया निर्धारण गरिएको छ ।
वनभोज खान आउने समूहबाट तीन सयदेखि एक हजारसम्म शुल्क लिने गरिएको बताए । पिकनिक स्पट भन्दा बाहिर तारबारको तीन सय र तारबार भित्र निर्मित जस्ता पातको संरचना रोज्नेलाई सात सयदेखि एक हजार दैनिक भाडा निर्धारण गरिएको छ ।

हाल उद्यानमा आठ जनाले रोजगारी पाएका छन् । त्यसबाफतट बेसिक तलब मासिक एक लाख ३५ हजार खर्च हुने भने ओभर डिउटी गर्ने समेत जोड्दा एक लाख ४९ हजार उनीहरुको तलवमा खर्च हुन्छ ।
२० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पार्कको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । पार्कभित्रको बालबालिकाका लागि बालउद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निर्माण गरिएको छ । पार्कमा मिनी चिडियाखाना निर्माण गरिएको छ । जहाँ चितुवा, दुम्सी, जरायो, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका वन्य जन्तु राखिएका छन् ।
पार्कभित्रको मुख्य आकर्षणको रुपमा भगवान गौतमबुद्धको मूर्ति स्थापना गरिएको छ । उक्त मूर्ति राखेसँगै पर्यटकको संख्या ह्वात्तै बढेको सचिव पोखरेलले बताए । पार्कमा पछिल्लो समयमा बिभिन्न जात जातिका कला संस्कृति झल्कने मगर,थारु र नेवार जातिका ड्रेसको पनि व्यवस्था गरिएको छ ।
जसले गर्दा पार्कमा आउने पर्यटकले ती ड्रेस लगाएर फोटो–भिडियो खिच्ने,टिकटक बनाउने गर्दछन । बितेको आर्थिक वर्ष २०७९ मा २ लाख ३० हजार टिकट बिक्रि गर्न सफल भएको सचिव पोख्रेलले बताए । 


