२०८३ कार्तिक २६ गते बुधवार

नेपालको संविधान विभेद्पुर्ण छैन ः मुख्यन्यायाधीश डा.बागचन्द

तुलसीपुर,असोज ३ । उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश डा. रत्न बहादुर बागचन्दले नेपालको संविधान विभेद्पुर्ण नभएको बताएका छन ।

८ औँ संविधान दिवसका अवसरमा बुधवार तुलसीपुर उपमहानगरपालिका र मेट्रो कलेज (कानुन संकाय)को संयुक्त आयोजनामा भएको संवैधानिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्यायाधीश बागचन्दले यस्तो बताएका हुन ।

उनले सम्पुर्ण नेपालीहरुको योगदान र सबै राजनितिदलहरुको सक्रियतामा नेपाली जनताले संविधान पाएको बताउँदै संविधानले देशमा रहेका सम्पुर्ण समस्याहरुलाई सम्बोधन गर्न संविधानमा सैद्धान्तिक कुराहरु उल्लेख भएको बताए । उनले संविधान दिवसका अवसरमा मौलिकहक सम्बन्धी विषयमा व्यापक छलफल गर्न जरुरी रहेको औल्याए ।

नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकहरुले सबैको शिर सगरमाथा जत्तीकै उच्च राख्ने काम गरेको उनले बताए । उनले नेपालको संविधान नेपालीका लागि मात्र नभएर अन्य देशमा बसोबास गर्ने नेपाली र नेपालमा बसोबास गर्ने अन्य देशका नागरिकहरुको लागि पनि गर्व महसुस गर्ने लायक भएको तर्क गरे । तर उनले मौलिक हकको सम्मान गर्ने प्रवृतिको विकास नहुँदा पछिल्लो समय अदालतमा मौलिक हक हनन् भएका मुद्धाहरु बढी मात्रमा दर्ता हुने गरेको बताए ।

‘संविधान बनाएर मात्रै देशको विकास हुन्छ भन्ने हुदैन,मुख्यन्यायधिस बागचन्द भने,‘–अझै पनि विश्वका केही ठुला–ठुला देशहरुमा संविधान नबनाए पनि त्यहाँको विकासले फड्को मारेका छ ।’

उनले नागरिकको अधिकार र स्वतन्त्रताका लागि संविधानमा उल्लेख गरिएका कुराहरु तिनै तहका सरकार र राजनितिकदल लगायत आम नागरिकहरुले अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । साथै मुख्यन्यायाधीश बागचन्दले संविधानमा उल्लेख गरिएका हक अधिकार संगसंगै कर्तव्यको आम नागरिकले उत्तीकै पालना गर्नुपर्ने बताए ।


तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान नगरप्रमुख घनश्याम पाण्डेले नेपालको संविधानले सरकारी संरचनालाई सिमित घेराभित्र राखेर जनतालाई असिमित अधिकार दिएको बताए । उनले नेपालको संविधान प्रति सबै जनताले गर्व गर्नुपर्ने धारणा राखे ।

नेपालको कानुन दैवले जानुन भन्ने उखानलाई चिर्दै अब नेपालको कानुन जनताले जानुन भनेर बुझ्न आवश्यक रहेको उनले बताए । साथै उनले अधिकार प्राप्तीका लागि प्रत्येक नागरिकले संविधानको बारेमा पढ्न र बुझ्न जरुरी बताए ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख श्यानी चौधरी,इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेल,बालरोग विषेशज्ञ डा. किशोर खत्री,रास्वपाका नगर संयोजक चित्र स्वर्णकार लगायतले नेपालको संविधान जनतामुखी हुनुपर्ने बताए । उनीहरुले नेपालको संविधानमा उल्लेख भएका केही बुदाँहरु सच्याएर र आम नागरिकहरुलाई समान अधिकारको प्रत्याभुत दिलाउनुपर्नेमा जोड दिए ।


त्यस अवसरमा मेट्रो कलेजका कानुन संकायका शिक्षक बिजय पोख्रेलले संविधानको हक,अधिकार,कर्तव्य लगायत विषयमा जानकारी गराएका थिए । मेट्रो कलेजका प्रिन्सीपल बसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले संविधान सम्बन्धी कविता,गितहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण मेट्रो कलेजका कानुन संकायका विद्यार्थी तिलक रावतले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *