२०८३ बैशाख १८ गते शुक्रवार

वन डढेलो नियन्त्रणका लागि सरोकारवालासग अन्तरक्रिया

दाङ, चैत २८ । वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले आज मंगलबार घोराहीमा जिल्लाका सवै सरोकारवाला निकायसँग समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

त्यस कार्यक्रममा बोल्ने बक्ताहरुले दाङ वन डढेलोको जोखिम जिल्लामा पर्ने भएकाले सवै तहको समन्वय र सहकार्यबाट आगलागीका घटना हुनै नदिने र भइहाले कमभन्दा कम क्षती हुने गरी नियन्त्रण गर्न लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

जिल्लामा बर्षेनी वन डढेलोका घटना भइरहने तथा घटना नियन्त्रणका जिम्मा सरकारी निकायको मात्रै हो भने जसरी लाग्ने प्रबृत्ति रहेको भन्दै अव सवैको सहकार्यबाट अघी बढ्ने प्रतिवद्धता सरोकारबाला निकायले गरेका छन । 

वन क्षेत्र समन्वय समितिका संयोजक एंव जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माको सभापतित्व एंव घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङमा भएको वन डढेलोको अवस्था, नियन्त्रण लागि भइरहेको प्रयास र अवको रणनितिको बिषयमा डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै डिभिजन वन कार्यालय दाङका प्रमुख श्रेष्ठले जंगलमा नियतवस आगो लगाउने गर्दा नियन्त्रणमा गर्न समस्या हुने गरेको बताए ।

उनका अनुसार ६४ प्रतिशत जंगलमा आगलागी नियतवस हुने गरेको छ । जंगलमा राम्रो विरुवा उत्पादन हुने, झारपात सफा हुने, जंगली जनावरको सिकार गर्ने, च्याउ उत्पादन हुने लोभमा आगो लगाउने गरेको अनुसन्धानले देखाएको उनले बताए ।

आगलागी भएसंगै नियन्त्रणका लागि कठीन भौगोलिक बनावटका कारण झन समस्या छ । दाङका वनमा तत्काल आगो लागेमा नियन्त्रणका लागि सडक नहुँदा, दमकल, पानी ट्यांकर लैजान सकिने सडक सुविधा छैन ।

जनशक्तिको समेत अभाव भएको उहाँको भनाई छ । वन डढेलो लाग्नुको मुख्य कारणहरुमा सममै खर घाँसको संकलन हुन नसक्नु, चोरी शिकारीको मनसाय, गोल पोल्ने, मेलामा आउने जानेको लापरवाही, हानिकारण वन्यजन्तुवाट जोगिन, राम्रो घाँस तथा च्याउ उमार्न जानेरै आगो लगाउने भएकाले पनि वन डढेलो नियन्त्रणमा चुनौती देखिएको हो ।

यस्तै चुरोट, खाएर ननिभाइ ठुटा फाल्ने, मनोरन्जनका लागि आगो वाल्ने ननिभाई छोड्ने, टावर सुरक्षाका लागि आसपासका झाडी सफा गर्ने, निकुन्ज सिमाना र निजी काल्ना बारीमा व्यवस्थापनका लागि आगो लगाउने, अरिंगाल पोल्ने, मौरीको चाका निकाल्ने क्रममा पनि डढेलो लाग्ने गरेको प्रमुख श्रेष्ठले कार्यक्रममा जानकारी गराए ।

कार्यक्रमका प्रमुख घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीले सामुदायिक वन समूहका माध्यमबाट वनको संरक्षण र बिकासमा महत्वपूर्ण काम भइरहेको भन्दै वन डढेलो नियन्त्रणका लागि पनि स्थानीयसँगको समन्वय र सहकार्य जरुरी रहेको बताए ।

पानीका मुहान संरक्षण गरी कृषिका माध्यमबाट आयआर्जन बढाउनका लागि उपमहनगरपालिकाले थालेको ड्याम बनाउने अभियानले वन डढेलो नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी शुशील बैधले गाउँतहमा बस्ने मानिसहरुको सहभागि र उनीहरुसँग राज्यका निकायले समन्वय गरी समन्वय र सहकार्यबाटै वन डढेलो कम गर्न सकिने भन्दै त्यसका लागि सवैलाई लाग्न आग्रह गरे ।

जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माले सवै तहका सरकार र स्थानीयको सहकार्यबाट वन डढेलो नियन्त्रण हुने भन्दै आफूले दाङमा वन डढेलोका घटना कम गर्नका लागि आवश्यक समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा डिभिजन वन कार्यालय वन डढेलो नियन्त्रण सहयोगी पम्पलेट र ब्रोसरको पनि लोकार्पण गरिएको थियो ।

सहायक वन अधिकृत भक्तबहादुर चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जिल्लाका सवै राजनितिका दलका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन महासंघका पदाधिकारी, सामुदायिक वन समूहका पदाधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वन कर्मचारी लगायतकाको सहभागिता रहेको थियो । 

कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत खिमबहादुर केसीले गरेका थिए ।

अग्नि नियन्त्रक सामाग्री हस्तान्तरण


डिभिजन वन कार्यालय दाङ वन डढेलो नियन्त्रणमा सहयोग गर्न आगो निभाउन प्रयोग गरिने सामाग्री बितरण गरेको छ ।

सुरक्षा निकाय र अग्नि नियन्त्रणका लागि समूह स्तरमा गठित चार वटा समूह र सञ्जाल गरी ८ वटा निकायलाई सामाग्री हस्तारण गरेको हो ।

सुनपुर, अम्विकेश्वरी, बिजौरी र पुरन्धारा सव डिभिजन वन स्तरीय समूह/सञ्जाल र नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी वल र वन तथा वातावरण संरक्षण गणलाई आज मंगलवार एक कार्यक्रमको आयोजना गरी डिभिजन वन कार्यालयले वन डढेलो लागेपछि निभाउन प्रयोग गरिने सामाग्री हस्तान्तरण गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

हरेक समूहलाई हेल्मेट, स्वाटर, पानी बोकेर छर्कने ट्याङकी, पञ्जा लगायतका १५ थरिका सामाग्री बितरण गरिएको थियो ।

डिभिजन वन कार्यालय दाङको कार्य क्षेत्रमा रहेका ८३  वटा सामुदायिक वन डढेलोको हिसावले उच्च जोखिम, ४६ वटा मध्यम र ४४ वटा सामुदायिक वन न्यून जोखिममा छन । 

गर्मीयामको समय शुरु भएसगै वन डढेलोका घटना शुरु हुने गरेको र ती मध्ये ६४ प्रतिशत वन डढेलोका घटना नियतबस हुने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख श्रेष्ठले बताए ।

वन डढेलो नियन्त्रणका लागि दाङमा आम सञ्चारका माध्यमबाट प्रचारप्रसार, अग्निरेखा निर्माण र सरसफाई, स्थानीय समूह सञ्जाल गठन गरी उनीहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन, वन ब्यवस्थापन, विद्यालयमा पुगेर स्कुल शिक्षा कार्यक्रम लगायतका कार्यक्रम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए  ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *