२०८३ बैशाख १७ गते बिहिवार

विदेशमा मृत्यु भएका नेपालीका नाममा ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ ,चैत २४ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपालीहरूका परिवारले पाउने बीमा रकम ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।

शुक्रबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशमा मृत्यु भएका नेपालीहरूको बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केही मात्रै दिएर अन्य रकम ठग्ने गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले चैत २३ गते दिउँसो काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए ।

उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याडलगायतका महत्वपूर्ण अन्य विविध कागजातहरूसहित बरामद गरी ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए ।

पक्राउ पर्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाही लालबन्दी-८ का ३४ वर्षीय विनोदकुमार लामा, सर्लाहीको लालबन्दी-८ का ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय सर्लाही लालबन्दी–८ कै रविन्द्र मोक्तान, सोही स्थानका ३५ वर्षका प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन–२ का ३९ वर्षीय रुद्रमान गोले रहेको प्रहरीले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका शवको बीमामा ठगी गर्ने यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई बासस्थानमै गएर भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताए ।

शव नेपाल आइसकेपछि उनीहरूले पीडित परिवारलाई काठमाडौं बीमाको रकम लिन बोलाउने र कोठामा थुनेर आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको उनले बताए ।

उनका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *