लमही, चैत २३ । नेपाल विद्युत प्राधिरकण बुटवल ग्रिड महाशाखाको लमही सव–स्टेशनको परिसर क्षेत्रमा आगलागी हुदाँ देउखुरी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।
विहिवार दिउँसो एक्कासी आगलागी हुदाँ सव–स्टेशनबाट प्रवाह हुने विद्युत सेवा दिनभर प्रभावित भएको छ ।
आगलागी हुदाँ गढवा र भालुबाङ्ग क्षेत्रमा वितरण गरिएको विद्युतीय तार जलेको छ । जसले गर्दा विद्युत सेवा प्रवाहमा कठिनाई भएको र मर्मतको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।
करिब दिउँसो एक बजेर ३० मिनेटमा विद्युत प्राधिकरणको परिसर क्षेत्रमा आगोलागेको थियो । संकलन गरिएको फोहर नष्ट गर्ने क्रममा लगाएको आगो झाडीमा फैलिएको थियो ।
जसले गर्दा विद्युत प्राधिकरणको सप्लाई तार जलेका कारण विद्युत सेवा नै रोकिन पुगेको छ । अहिले तार मर्मतको काम चलिरहेको र मर्मत पश्चात मात्र विद्युत सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
आगलागी भएको सूचना पाए लगत्तै वडा प्रहरी कायालय लमही, सशस्त्र प्रहरी वल अर्जुनखोलाको सुरक्षाकर्मी, नेपाली सेना घटनास्थलमा पुगेका थिए ।
सुरक्षाकर्मी र दमकलको साहेताले आगो नियन्त्रणमा आएको हो । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल आगो निभाउन खटिएका थिए ।