विमल योगी, घोराही, चैत्र १४ । घोराही उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि बिद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ ।
सरकारी तथा निजी बिद्यालयले भर्ना गर्दा जन्मदर्ता नखोज्दा धेरै बालबालिकाको जन्मदर्ता नहुने भएकाले आगामी शैक्षिक शत्रदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिइएको हो ।
उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा घोराही ७ सौडियारमा बुधबार आयोजित व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा सम्वन्धि नागरिक सचेतना कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले त्यस्तो निर्देशन दिएका हुन ।
यसका लागि सवै सरकारी तथा निजी बिद्यालयलाई परिपत्र गर्ने तयारी गरेको उनले बताए ।
कार्यक्रममा वडाध्यक्ष खोपीराम चौधरीले ३५ दिनभित्रै जन्मदर्ता गराउने र सुरक्षित प्रसुती सेवा लिनका लागि उपमेयर खुत्रुके बचत कार्यक्रम मार्फत एक हजार रुपैया प्रोत्साहन दिने गरिएको बताएका थिए ।
कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख दिवाकर योगीले जन्मदर्ता ३५ दिनभित्रै गर्ने,बिद्यालय भर्नामा जन्मदर्ता अनिवार्य बनाउने, बहुबिवाह र बालविवाहलाई शुन्यमा झार्ने, बसाईसराई गर्दा अनिवार्य घटना दर्ता गरेर मात्रै गर्ने, दोहोरो घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई शून्यमा झार्ने, सामाजिक सुरक्षा भत्ताको दर्ता,नविकरण,लगत कट्टा,बैंक खाता सञ्चालन लगायतका बिषयमा जानकारी दिएका थिए ।