२०८३ बैशाख १९ गते शनिवार

सार्वजनिक सवारीले अनिवार्य भाडादरको सूची टाँस गर्नुपर्ने

घोराही,चैत १४ । भाडादर तोकिए पनि यात्रुहरु सधै ठगीमा पर्ने गुनासो आएपछि दाङमा चल्ने सबै सार्वजनिक सवारी साधनले भाडादरको सूची टाँस गर्नुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अब सबै सार्वजनिक सवारी साधनले अनिवार्यरुपमा भाडादरको सूची गाडीमा टाँस गर्नुपर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय अनुगमन तथा मूल्यांकन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सार्वजनिक सवारी साधनहरु बस, जीप तथा अटोहरुले तोकिएको रुटहरुमा यात्रुहरुबाट लिनुपर्ने भाडादरको सूची बसपार्क र सम्बन्धित सवारीका साधनहरुमा सबैले देखिने गरी टाँस गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले कुनै पनि यात्रु ठगिएमा र दुव्र्यबहारमा परे तत्काल प्रहरीमा सम्पर्क गर्न पनि सबैमा अनुरोध गरेको छ ।

साथै बैठकले गर्मीयामको शुरुवात भएसँगै बासी सडेगलेका अव्यवस्थित तयारी खानाको कारणले विभिन्न रोगहरु फैलन सक्ने सम्भावना भएकाले जिल्लाका शहरी क्षेत्र एवं राजमार्गमा रहेका होटल, रेष्टुरेन्ट एवं लजहरुको खानालगायत खाद्य पदार्थको गुणस्तर परीक्षणका लागि अनुगमन गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बजारमा बिक्री हुने दैनिक उपभोग्य सामग्री तथा सेवाको अस्वाभाविकरुपमा मूल्य बृद्धि भइरहेको तथा सरकारी दररेटभन्दा विपरीत बिक्री वितरण गर्नुका साथै गुणस्तरहीन, म्याद नाघेका खाद्य सामग्रीका साथै नेपाल आयातमा प्रतिबन्ध गरिएका पेय पदार्थको समेत बिक्री भएको भन्ने गुनासो आएकाले त्यसको नियमनका लागि अनुगमन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *