२०८३ बैशाख १७ गते बिहिवार

श्रीमद्भागवत महापुराणको आयव्यय विवरण सार्वजनिक

तुलसीपुर,चैत ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित नयाँ बसपार्क पुलचोकमा सञ्चालन गरिएको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

जय शिव महाकाल मानवसेवा आश्रमले शुक्रबार पत्रकार सम्मेलन गरि श्रीमद्भागवत महापुराण तथा शिव चर्चाको आयव्यय विवरण सार्वजनिक गरेको हो ।

फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको महापुराण तथा शिव चर्चामा ८ लाख ७३ हजार २ सय ६० रुपैया नगद आम्दानी भएको थियो भने महापुराण सञ्चालनमा ८ लाख ८७ हजार ९०९ रुपैयाँ खर्च भएको जय शिव महाकाल मानवसेवा आश्रम अध्यक्ष शेरबहादुर घर्तिले जानकारी दिए ।

उनले महापुराणमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी रुद्रसिंह खड्का र विमला खड्काले तुलसीपुर ७ गैरापातुमा रहेको करिब ३० लाख मूल्य बराबरको जग्गा आश्रमलाई दान दिएको बताए ।

‘हाम्रो यो पहिलो कार्यक्रम भएको हो,आर्थिक रुपमा सोचे अनुरुप रकम संकलन नभएपनि आश्रमलाई जग्गा आएको हुँदा आफूहरूको अभियान सफल भएको महसुस गरेका छौं,‘घर्तिले भने । ’ उनका अनुसार आश्रमलाई प्राप्त भएको जग्गाको अहिले बजार मूल्य करिब ३ लाख बराबर छ,जसको २३ मिटर लम्बाई र १८ मिटर चौडाइ रहेको छ ।

जग्गा दान गर्ने दाताले जग्गासँगै डिंग्रे शाइकुमारीको मन्दिर निर्माण गरेर आश्रमलाई हस्तान्तरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

जय शिव महाकाल मानवसेवा आश्रमले गत कात्तिक महिनादेखि तुलसीपुरको बसपार्कमा भोक र प्यास विरुद्धको निःशुल्क खाना खुवाउने अभियान गर्दै आएको र उक्त अभियानलाई थप व्यवस्थित गर्नको लागि महापुराण सञ्चालन गरिएको अध्यक्ष घर्तीले बताए ।

‘आर्थिक रुपमा सफल हुन नसकेपनि भौतिक रुपमा जग्गा पाएका छौँ,उनले भने,‘अब हामी त्यहाँ आश्रम निर्माणको लागि तयारी गर्ने छौँ,महापुराणमा सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’ उनले निःशुल्क खाना खुवाउने अभियान निरन्तर चलिरहने बताए ।

कार्यक्रममा निःशुल्क खाना खुवाउने अभियानमा निरन्तर निःस्वार्थ रुपमा सेवा गर्दै आउनुभएका आश्रमका सदस्य हिरा सुनारलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

यसैबिच जय शिव महाकाल मानव सेवा आश्रमले निःशुल्क खाना खुवाउने कार्यक्रमसँगै कपडा बैंक पनि सञ्चालन गर्न लागेको जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *