२०८३ बैशाख १६ गते बुधवार

लुम्बिनीमा औषत दैनिक २० अपराधका घटना दर्ता

तुलसीपुर,फागुन ३० । लुम्बिनी प्रदेशमा अपराधका घटनामा कमी आउन सकेको छैन । विभिन्न जनचेतनामुलक कार्यक्रमहरुमा प्रहरीको सक्रियता बढेपनि अपराधका घटना वर्षेनी बृद्धि भएको देखिन्छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख टेक प्रसाद राईका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनाको अवधिमा प्रदेश कार्यालयमा ४२३६ वटा अपराधका मुद्धा दर्ता भएका छन ।

ती मध्ये १७९२ मुद्धा फछयौट भैसकेका छन भने फछयौट हुन २४४४ बाँकी छन । अपराध घटनालाई प्रकृतिका आधारमा हेर्दा सामाजिक अपराधका घटना बढी देखिएका छन ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा लुम्बिनीमा २ सय ३२ वटा सामाजिक अपराधका घटना भएका छन ।

त्यस्तै आत्महत्याका १ सय ७८, ज्यान सम्बन्धी १ सय ७०, महिला तथा बालबालिका सम्बन्धी ८७, संगठित तथा आर्थिक अपराध ११२,सवारी सम्बन्धी ६५,चोरी,७३,विविध अन्य १४५ वटा घटना भएका छन ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा अनुसार अपराधका घटना सबैभन्दा बढी रुपन्देहीमा भएका छन भने त्यसपछि दोस्रोमा बाँके र तेस्रोमा दाङ जिल्लामा भएका छन । प्रहरी कार्यालयमा औषत दैनिक २० वटा अपराधका घटनाहरु दर्ता हुने गरेको तथ्याङ्क छ ।

कार्यालयमा आर्थिक वर्ष २०७७÷०७८ मा ५८३५ वटा अपराधका मुद्धा दर्ता भएका थिए । ती मध्ये ४६६५ मुद्धा फछयौट भैसकेका छन भने ११७० बाँकी छन ।

त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ६३६२ मुद्धा दर्ता भएकोमा ४११७ फछयौट भएका छन भने २२४५ बाँकी रहेका छन । अशिक्षा, अभाव, गरीबी, पछौटेपनकै कारण आपराधिक घटनामा वृद्धि हुदै गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जघन्य अपराधका घटनामा बृद्धि

लुम्बिनी प्रदेशमा जघन्य अपराधका घटनामा पनि बृद्धि भएको छ । चालु आर्थिक वर्षको वितेको ८ महिनामा प्रदेशभर १ सय ६० वटा जघन्य अपराधका मुद्धा दर्ता भएका छन ।

ती मध्ये सबैभन्दा बढी लागु औषधका ८१ वटा घटना दर्ता भएका छन ।

त्यस्तै जबरजस्ती करणीका ४५,कर्तव्य ज्यान १४, मानव बेचविखन तगा ओसार पसार ७, हातहतियार खरखजना ५, अपहरण तथा शरिर बन्धक ४ र विष्फोटक पदार्थ ४ गरि १६० वटा जघन्य अपराधका घटना भएका हुन ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ७२ वटा जघन्य अपराध सम्बन्धी मुद्धा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ५७ वटा मुद्धा दर्ता भएका थिए ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामै बढेर १ सय ६० वटा मुद्धा दर्ता भएका छन ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *