काठमाण्डौ ,फागुन १२ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज बिहीवार स्वीकृत भएको छ ।
गृह मन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डीआईजी सिंहको राजीनामा स्वीकृत गरेको गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिए ।
राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ ।
सिंहले हिजो बुधवार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए ।
जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि सिंहले पदबाट राजीनामा दिएका हुन । यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।
नेपाल प्रहरीले पनि उनको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो ।