२०८३ बैशाख १९ गते शनिवार

लुम्बिनी प्रदेश सरकारले मनायाे स्थापना दिवस

दाङ,फागुन ३। लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ सिरिचौरमा औपचारिक समारोहको आयोजना गरेर सरकारले स्थापना दिवस मनाएको हो ।

२०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको थियो ।

प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रुपमा मनाउँदै आएको हो । प्रदेश सरकारले स्थापना दिवसमा प्रदेश पदकबाट महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरेको छ भने विभिन्न समुदायको झाँकी सहितको कला संस्कृति प्रस्तुत गरेर दिवस मनाइएको छ ।

मुख्यमन्त्री लिला गिरीको अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

संविधानले तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको धारणा राखेका छन् ।‘अवको पाँच वर्ष जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्छौं’ उहाँले भन्नुभयाे,‘यसका लागी सरकार प्रतिबद्ध छ ।’

प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जितबहादुर थापालाई विभूषित गरिएको छ ।

यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पु¥याएको भन्दै विभूषित गरिएको हो । थापा घाईते समेत छन ।

मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई, डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ ।

डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराइका थारू समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनिमिया र थालेसिमिया सम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।

प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न समुदायको कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको छ ।

पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको छ ।

सो अवसरमा भूम्या झाँकी घोराही प्रथम भएको छ । नौमति बाजा नेपाल मगर सांस्कृतिक संघ राप्ती दोस्रो र वड्का नाच जागृति सांस्कृतिक राप्ती –७ तेस्रो भएको छ ।

झुम्रा नाच प्रस्तुत गर्ने शिव युवा क्लब लमही र नव प्रगतिशल युवा क्लब राप्ती सान्त्वना भएका छन् ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *