दाङ, असार १६ । रोल्पाको त्रिवेणी गाँउपालिका वडा नं. ७ घर भइ पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर बिक असार १३ गते बिहान बा ५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल लिएर बाटो लागे ।
उनी पासपोर्ट बनाउने सोचका साथ काठमाडौं जान भनेर दाङदेखि एकाबिहानै निस्किएका थिए । उनी करिब साढे १० बजेतिर रुपन्देहीको सैनामैना भन्ने ठाउँमा पुगिसकेका थिए । उनी रफ्तारमा हिडे ।
रुपन्देहीको सैनामैना रामापुरमा उनी रोकिए । चिया पिउँदै थिए । मोटरसाइकल पूर्वपश्चिम राजमार्गको सडक छेउमै पार्किङ गरि राखेका थिए । त्यसैक्रममा एक अपरिचित किशोर त्यहाँ आए ।
बिकको मोटरसाइकलको प्रशंशा गरे । भने ‘ कस्तो राम्रो बाइक रहेछ ।’ उनले उक्त मोटरसाइकल सुमसुम्याए । मोटरसाइकल खुबै मन परेको कुरा गरे । तपाँई यो बाइक बेच्नु हुन्छ, कि भनेर किशोरले बिकलाई सोधे ।
बिक बिदेश जाने मनस्थितिका पासपोर्ट बनाउन काठमाडौं गइरहेका थिए । असार १० गते नै बिकले आफ्नो बाइक बिक्रिमा रहेको कुरा सामाजिक सञ्जालमा लेखि सकेका थिए ।
जस्मा उनले उक्त मोटरसाइकलको मूल्य एकलाखसम्म पाएपछि बिक्री गर्ने कुरा लेखेका छन् । बिक र ती अपरिचित किशोरको कुरा मिल्यो । ९० हजारमा ती किशोरले बाइक किन्ने कुरा टुँगियो । कुनैपनि ब्यक्तिले अरुबाट सवारी साधन किन्दा चेक जाँच गर्नु वा चलाउनु सामान्ने कुरा हो ।
ती किशोरले पनि ‘टेस्ट राइड’ गर्ने कुरा गरे । बिकले सहजै चाँबी दिए । बाइक लगेर गएका ती किशोर २० मिनेट बिति सक्दापनि फर्किएनन् । बल्ल बिकले आँफु फसेको कुरा बुझे ।
उनी इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगे । घटना बिवरण सुनाए । त्यहाँ उनले आफ्नो मोटरसाइकल चोरी लगेको कुरा गरे । एउटा निबेदन दिए ।
जाहेरीका आधारमा निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटियो । सोही प्रहरी टोलिले बुधबार कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थित भित्री सडकमा मोटरसाइकल चलाईरहेकै अवस्थामा एक किशोरलाई पक्राउ गर्यो ।
ती सैनामैना नगरपालिका वडा नं ८ का १८ वर्षीय किशोर थिए । घटना अनुसन्धानका लागि म्यादथप भइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
