तुलसीपुर असार १२ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाले लघुवित्त संस्थाका गतिविधिहरुलाई प्रभावकारीरुपमा अघि बढाउन नियमन,समन्वय आवश्यक रहेको बताए ।
स्थानीय सरकारसंग लघुवित्तको अन्तक्रिया विषय कार्यक्रममा बोल्दै उनले गाउँ समाजमा रहेका आर्थिकरुले विपन्न समुदायका महिलाहरुलाई आर्थिकरुपमा सबल र सक्षम बनाउनका लागि लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको मापदण्डमा न्यूनतम ब्याजमा ऋण प्रवाह गर्न आग्रह गरे ।
भुवन ढकालको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खडकाले लघुवित्तले विभिन्न शुल्कमा विपन्न वर्गलाई झन् गरिबीको रेखामुनि पु¥याउने कतिपय ठाउँमा त्यस्ता क्रियाकलाप देखिएकाले सच्याउनका लागि आग्रह गरे ।
उनले पालिकाले वित्तीय साक्षरताको अभियान सञ्चालनका लागि समन्वय सहकार्य गर्न सकिने बताए । कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले लघुवित्तका समस्या समाधान गर्दै आगामी दिनहरुमा समन्वय सहकार्य गर्न सकिने बताए ।
कार्यक्रममा जाल्पा सामुदायिक लघु वित्तका कार्यकारी अधिकृत विमला योगीले नेपालमा ६७ वटा लघु वित्त संस्था रहेको र ती संस्थामा ५६ लाख महिला आबद्व रहेको बताए । उनले उद्यम,सीप,उत्पादनमा लघु वित्तले काम गर्दै आएको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत,लेखा समितिका संयोजक माधव वलीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको विषयमा आत्मनिर्भर लघुवित्तका कार्यकारी निर्देशक सौगतवीर चौधरीले जानकारी दिए ।
