जुम्ला,बैशाख २३ । सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक हप्तादेखि टेलिफोनविहीन भएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत प्रभाव परेको स्थानीय बासिन्दाले बताएका छन् ।
नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिकाको कुडुमा रहेको टावरमा क्षति पुगेकाले टेलिफोन सेवा प्रभावित भएको हो ।
नेपाल टेलिकमका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरको हर्नमा क्षति पुगेको र हर्न काठमाण्डौबाट ल्याइँदै गरिएको जानकारी दिए ।
चुनावको समयमा टेलिफोनमा समस्या आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलहरुले गुनासो गरेका छन्। अर्कोतिर बिरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन एम्बुलेन्स तत्काल नपाउने अवस्था आएको स्थानीयको गुनासो छ ।
प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
