
एकहप्ते आधारभूत पत्रकारिता तालिमको समापन
दाङ,असोज १९ । दाङको घोराहीमा एकहप्ते आधारभूत पत्रकारिता तालिमको समापन गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा भएको तालिमको सोमबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।
महासंघ दाङका उपाध्यक्ष वसुन्धरा गौतमको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले समाज परिवर्तनमा पत्रकारको अहम भुमिका रहने बताउँदै पत्रकारिताको आचासंहिता भित्र रहेर काम गर्नु पर्ने बताए ।
पछिल्लो समय पत्रकारितामा अपेक्षा संगसँगै आलोचनाहरु बढी हुने गरेका छन्, उनले भने,त्यसैले पत्रकारले समाजले आलोचना नगर्ने गरी आचारसंहिता भित्र रहेर काम गर्न जरुरी छ ।
नागरिकका अभिव्यक्तिलाई राज्यसम्म पुर्याउने काम पत्रकारको भएको भन्दै अध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रताका सवालमा खबरदारी गर्न निडर भएर कलम चलाउनु पर्ने बताए ।
उनले पत्रकारिताको विश्वसनीयता कायम गर्न यो पेसालाई अनुशासित र मर्यादित बनाउनु पर्ने जोड दिए ।
कार्यक्रममा महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष एबम तालिम प्रशिक्षक गोविन्द आचार्यले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लहाकार सबिन प्रियाशन पत्रकारितालाई समय सापेक्ष बनाउनुपर्ने बताए ।
पत्रकारिता पेसा एक चुनौतीपूर्ण पेसा हो,उनले भने, यसलाई टिकाई राख्न मर्यादित रुपमा इच्छाशक्तिको आवश्यकता पर्दछ ।
कार्यक्रममा इन्टरनेशनल अलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्री,नेपाल पत्रकार महासघ केन्द्रिय समितिका कार्यक्रम संयोजक संघर्ष पन्त,तालिममा सहभागी सरिता चौधरी,प्रकाश खनाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा धन्यबाद ज्ञापन महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गरेका थिए । एकहप्ते तालिम बिहान र दिउँसो गरि दुई चरणमा भएको थियो ।
उक्त तालिममा जिल्लाका सञ्चार माध्यममा आवद्ध ४० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सहभागी चन्द्र प्रकाश नेपालीले गीत प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघ दाङका सदस्य शिवराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघका सचिव आरके शितलले गरेका थिए ।
