
तुलसीपुर, भदौ २५ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा पुनः मत गणना गर्ने क्रममा ५० मत गायब पारिएको तथ्य फेला परेको छ ।
यो वडामा भदौ २२ गते नेतृत्व चुन्न निर्वाचन भएको थियो । कुल ३१२ मत खसेकोमा मत गणनाका क्रममा वडा सचिब पदका उम्मेदवार मन्दागिनी खड्का र ओपेन्द्र खत्रीको समान १४९ मत प्राप्त गरेका थिए । उनीहरु मध्य एक जना निर्वाचित हुनु पर्ने थियो ।
त्यस्तै क्षेत्रीय प्रतिनिधि तर्फ शंकर दिवस मज्गैंया, यमकान्त भण्डारी र जितेन्द्रप्रकाश वलीको पनि समान १४२ मत आयो । यी तीनबाट एक जना मात्रै निर्वाचित हुनु पर्छ ।
समान मत आएकाहरुले मतदान अधिकृतको आग्रह अनुसार रिकाउन्टका लागि सहमति पत्रमा हस्ताक्षर गरेपछि बिहीबार फेरि पोका पुन्तरा खोलेर मत गणना सुरु भयो । बराबरी भएकाहरुको मत रिकाउन्ट गर्ने र त्यसबाट फेरि पनि बराबरी मत प्राप्त भए गोलापर्था मार्फत टुंगो लगाउने कुरामा उम्मेदवारहरु सहमत थिए ।
सोही सहमति अनुसार बिहीबार बिहान ११ बजेदेखि रिकाउन्ट सुरुमा वडा सचिवको गणना गर्न खोज्दा ५० मतको एउटा बन्डल नै फेला परेन । ‘२६२ मत मात्रै फेला प¥यो र ५० मत गायब पारिएको देखिएपछि रिकाउन्टिङ बीचमै रोकियो,’ एकजना उम्मेदवारले भने ‘ यो सरासर बदमासी हो ।’
मतदान अधिकृत बिजय पौडेलले ५० मत फेला पर्न नसकेको स्वीकार गरे । रिकाउन्ट गर्न खोज्दा ५० मतको एउटा बण्डल नै फेला नपरेको उनले बताए ।
उन्पन्न कमजोरी निर्वाचन मण्डल भित्रकै कसैले गरेको हुनुपर्ने उनले बताए । सल्टाउन नसकिने किसिमको जटिल समस्या उत्पन्न भएपछि आँफुले बिहीबार नै उत्पन्न समस्या समाधानका लागि जिल्ला निर्वाचन समितिमा पठाइ सकेको पौडेलले बताए ।
तर, ५० मत हराउनु ठूलो लापरबाही र गम्भीर षडेन्त्र भएको भन्दै सम्बन्धित उम्मेदवारहरु भने अदालत जाने तयारी गरिरहेका छन् । वडा सचिव पदका उम्मेदवार ओपेन्द्र खत्रीले जानाजान कसैले मिलेमतोमा ५० मतको बन्डल नै गायब बनाएर बिबाद सृजना खोजेको हुँदा त्यसका बिरुद्ध अदालत जाने जानकारी दिए ।
निर्वाचन अधिकृत पौडेलले भने अब जिल्ला निर्वाचन समितिको निर्णय अनुसार आँफु अगाडि बढ्ने बताए ।
यसैबीच
दाङका एक सय वडाहरु मध्य तुलसीपुरका ३ वटा वडा बाहेक अन्य सबैमा भदौ २१ गते नै निर्वाचन भएको थियो ।
तर, यतिदिन बिति सक्दापनि अझैंपनि तुलसीपुर, दंगिशरण र घोराहीका १२ वटा वडाहरुले जिल्ला निर्वाचन समितिको सचिवालयमा नतिजा बुझाएका छैनन् ।
अझैं दंगिशरण गाउँपालिका वडा नं. ७, तुलसीपुर उपमहागनरपालिका अन्तरगत वडा नं. ३, ४, ५, ८, ११, १२, १५, १९ र घोराही उपमहानगरपालिका अन्तरगत ३, ४ र १४ नम्बर वडाको मत परीनाम जिल्ला निर्वाचन समितिको सचिबालयमा प्राप्त भइ नसकेको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।