तुलसीपुर, चैत ८ । हप्ता दिन मेला सञ्चालन गर्दा फोहर भएको कालाखोला स्थलको सरसफाई गरिएको छ ।
मेला आयोजकहरु मिलेर आफैं मेलामा आएका व्यक्तिहरुले खोला र पानीमा फालेका फोहरहरु संकलन गरि ब्यबस्थापन गरेका हुन ।
मेलापछि फोहर उठाउन आयोजकले ध्यान नदिएको भन्दै सामाजिक सञ्जालहरुमा बिरोधहरु सुरु भएको थियो ।
शनिवार आयोजकहरु मिलेर भोटे मेला स्थल काला खोला क्षेत्रमा फालिएका बोत्तल, प्लाष्टिक, पोलिथिन लगाएका फोहरहरु संकलन गरिएको भोटे मेला सांस्कृतिक समितिका संयोजक दीपक कुमालले फरककोणलाई बताए ।
तुलसीपुर उपमाहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले मेला स्थलमा भएको फोहरको संकलन र सरसफाई गर्ने दायित्व पुरा गरेको बताए ।
‘मेला समापन भए लगतै हामीले सरसफाई गर्नु पर्छ भनेर योजना बनाएका थियौं,’ उनले भने ‘ तर, सामाजिक सञ्जालहरुमा केहीले विरोध गर्न थाल्नु भयो र हामीले तत्काल त्यो फोहर संकलन गरेका हौं ।’
उनले मेलास्थलबाट झन्डै एक ट्रयाक्टर जति प्लाष्टिकका फोहरहरु संकलन गरेको बताए ।
आफुहरुले भोटे मेला ब्यूँताउने प्रयास स्वरुप मेला आयोजना गरेर कालाखोलाको महत्व उजागर गर्न खोजेको भएपनि स्थानीय सरकार र समाजबाट समेत अपेक्षित सहयोग प्राप्त गर्न नसकेको उनले गुनासो गरे ।


