
दाङ, मंसिर ३ । दाङमा एक महिनाको अवधिमा ६५ जुवाडे पक्राउ परेका छन् । दशैं तिहारको बीचमा दाङ प्रहरीले ११ वटा जुवामा छापा हानेर ६५ जना जुवाडे पक्राउ गरेको हो । ती जुवाडेको साथवाट सवा १५ लाख बढी रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको तथ्याङ्क अनुसार सबै भन्दा धेरै जुवा घोराही क्षेत्रमा भएको देखिएको छ । त्यसपछि तुलसीपुरमा जुवा हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
दशैं तिहारको अवधिमा घोराही क्षेत्रवाट ६ वटा जुवा, तुलसीपुरमा ३ वटा, बबई र राप्ती गाउँपालिकामा १÷१ वटा जुवामा छापा हानेको छ । दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार उनीहरुको साथवाट १५ लाख १८ हजार २ सय २० रुपैंया नगद र ७३ गड्डी तास बरामद भएको छ ।
ती जुवाडेलाई कारवाही गर्दा थप साढे ५८ हजार राजश्व संकलन भएको डिएसपी खड्काले जानकारी दिएका छन् । यो ९ वटा जुवा अड्डामा पक्राउ परेकाहरुलाई कारवाही गर्दा संकलन भएको राजश्व हो ।
प्रहरीका अनुसार अझैं घोराहीका दूई जुवाडे ग्रुपलाई कारवाही हुन बाँकी नै छ । उनीहरु तिहारको समयमा पक्राउ परेको हुँदा जरिवाना भइ नसकेको डिएसपी खड्काले बताए ।
प्रहरीले यो बीचमा साना तिना जुवा अड्डामा मात्रै छापा हानेको कतिपयले आरोप लगाउने गरेका छन् । ठूला जुवा अड्डामा प्रहरीले अझैं छापा हान्न नसकेको कतिपयको आरोप छ । ‘ ठूलो जुवा अड्डाहरु कतिपय प्रहरीकै मिलेमतोमा हुने गरेका छन्,’ तुलसीपुरका एक व्यक्तिले भने ‘ प्रहरीकै मिलेमतोमा हुने जुवाहरुमा भने प्रहरीले कहिलै छापा हानेको छैन ।’
उनले तुलसीपुरमा बाह्रै मास जुवा खेल्नेहरु समेत रहेको भएपनि प्रहरीले उनीहरुलाई नदेखे जस्तो गर्ने गरेको आरोप लगाए ।