
दाङ, असोज ७ । नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य शंकर गिरीले प्रदेश पूर्वाधार विकाश प्राधिकरण विद्येकले संसदीय जनतन्त्रको उपहास गरेको बताएका छन् । बुधवार प्रदेश पूर्वाधार विकाश प्राधिकरण स्थापना र सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य गिरीलेप्राधिकरण गठन गर्नु भनेको संसदीय जनतन्त्रमाथि प्रहार गर्नु भएको बताए ।
‘कार्यकर्ता पोस्ने नियतले प्राधिकरण गठन गरिएको छ,’ गिरीले भने ‘राजा महेन्द्र यही प्रवृतीका थिए, राजा ज्ञानेन्द्रले यही प्रबृती अपनाएका थिए ।’प्रदेश सभा सदस्य गिरीले पूर्व राजाहरुको पथमा हिंडने हो भने किन हिजो त्यत्रो आन्दोलन गरेको हो ? भन्ने प्रश्न समेत गरे । ‘यो संस्थागत मूल्य मान्यता माथिको प्रहार हो, संसदीय व्यवस्था माथिको विश्वास घात हो, लोकतन्त्रमाथिको अपमान हो,’ गिरीले भने ।
त्यस्तै प्रदेशसभा सदस्य रमा अर्याल र तारा जिसीले गठित विधेयकलाई कार्य सूचीबाट हटाउन माग गरेका छन् ।
जवाफमा मुख्यमन्त्री शंकर पोखरेलले विगतमा भएका अभ्यासहरुकै आधारमा प्राधिकरण स्थापना र सञ्चालन विधेयक ल्याइएको बताए । उनले त्यसमा अनावश्यक शंका र टिप्पणी नगर्न आग्रह गरे । प्रदेश विकाशको तीब्र आकांक्षालाई सम्बोधन गर्न प्राधिकरणको धारणा अघि बढाइएको पोखरेलले तर्क गरे ।
