२०८३ मङ्सिर ७ गते आइतवार

विश्राम कोठाको प्रभावः छात्राहरु नियमित विद्यालय आउन थाले


सल्यान, २८ भदौ ।
विश्राम कक्षको प्रभावले सल्यानमा छात्राहरु नियमित विद्यालय आउने गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै माध्यमिक विद्यालयहरुमा विभिन्न सुविधासहित छात्रा विश्राम कोठाको ब्यवस्था गरिदिएपछि नियमित रुपमा छात्राहरु विद्यालय आउने गरेको सम्बन्धित विद्यालयहरुले जानकारी दिएका छन् ।

महिनाबारी भएको बेला विद्यालयमा अनुपस्थित हुने समस्या आएपछि गाउँपालिकाले विश्राम कोठाको व्यवस्था गरेको थियो । विश्राम कोठाको व्यवस्था भएपछि अहिले महिनाबारी भएको बेला छात्राहरुको विद्यालय अनुपस्थित हुने समस्या हटेको कालिका माध्यमिक बिद्यालय कपुरकोटकी शिक्षिका हिमा सुवेदीले बताइन् ।

‘पहिले छात्राहरु महिनाबारी भएको बेला विद्यालय आउँदैनथे, आएपनि घर फर्किन्थे, विश्राम कोठाको व्यवस्था भएपछि अहिले विद्यालयमै आराम गर्छन्’ उनले भनिन् । पहिले महिनाबारी भएको बेला बिदा लिएर जाने गरेकोमा अहिले छात्राहरु नियमित आउने र पढाइमा असर नपरेको शिक्षिका सुवेदीले बताइन् ।

महिनाबारी भएको बेला विभिन्न समस्याहरु झेल्नुपरेकोमा अहिले भने त्यो समस्या हटेको कालिमा माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत छात्रा शान्ति पुन मगरले बताइन् । उनले भनिन्, ‘महिनाबारी हुँदा गाह्रो हुन्थ्यो, बिद्यालय आउँदा बाटोबाटै घर फर्किनुपथ्र्यो, सरहरुलाई भन्न पनि लाज लाग्थ्यो, अहिले विद्यालयभित्र आराम गर्ने कोठाको व्यवस्था भएपछि कुनै अप्ठ्यारो महसुस भएको छैन ।’

महिनाबारी भएको बेलामात्र नभएर अरु बिरामी भएको बेला पनि आराम गर्ने गरेको अर्का छात्रा अबन्तीका सुनारले बताइन् । महिनावारी भएको बेला विद्यालय आउँदा विशेषगरी किशोरीहरुलाई समस्या हुने देखिएपछि गाउँपालिकाले पाँचवटै माध्यमिक विद्यालयमा विश्राम कोठाको व्यवस्था गरेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।

‘विशेषगरी पहिलोपटक महिनाबारी हुने छात्रालाई बढी पीडा हुन सक्छ । विद्यालयमा रहेको बेला महिनाबारी भएमा छात्राहरू निकै समस्यामा पर्ने गर्छ । यही समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौँ’ अध्यक्ष सेनले भने । विगतका दिनहरुमा पठनपाठन गर्ने छात्राको संख्या घट्ने गरेको भएपनि अहिले भने नियमित बढिरहेको अध्यक्ष सेनले बताए ।

विश्राम कक्षका लागि कपुरकोट गाउँपालिकाभित्रका पाँचवटा माध्यमिक विद्यालयहरूले एउटा छुट्टै कोठाको व्यवस्था गरेका छन् । ‘हामीले छात्राहरुका लागि एउटा छुट्टै कोठाको व्यवस्था गरेका छौं’ भवानी माविका प्रधानाध्यापक दल बहादुर खड्काले भने, ‘जसमा गाउँपालिकाले आराम गर्नका लागि बेड, स्यानेटरी प्याड, प्रयोग गरेको प्याड राख्ने भाँडा, टाउको, पेट दुखेमा, ज्वरो आएमा, चोटपटक लागेमा प्राथमिक उपचार गर्ने आवश्यक औषधि र सामग्रीहरूको व्यवस्था गरिदिएको छ ।’

महिनाबारी भएको बेलामा दैनिक सरसफाई गर्नुपर्ने र सन्तुलित खानाका साथै आरामको व्यवस्था गराउनुपर्ने बारेमा विद्यालयस्तरमा जनचेतना फैलाउने कार्य पनि गरिरहेको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालको भनाइ छ । अहिलेसम्म पनि महिनाबारी भएको बेलामा लाज मान्ने, खुलेर कुरा गर्न नसक्ने र सरसफाईमा समस्या आउने भएकोले धार्मिक संस्कारभन्दा पनि सरसफाईमा जागरुक गराउनुपर्ने उनको भनाई छ । सल्यानका धेरैजसो विद्यालयमा शौचालय तथा आराम गर्ने ठाउँ नहँुदा छात्राहरूले निकै समस्या व्यहोर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *