
चितवन, भदौ ८ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको बयान भोलि (सोमवार) मात्रै हुने भएको छ।
उनलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेपछि ८ दिनदेखि थुनामा छन् । रवि र अर्का पत्रकार युवराज कँडेलको सोमवार मात्रै बयान हुने भएको छ ।
बयान नसकिएकालाई हिरासतमै राख्न अदालतले आदेश दिएको छ। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुने भएको छ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ।
आइतवार एक अर्की अभियुक्त अस्मिता कार्की (रुकु)को बयान सकिएको जिल्ला अदालत चितवनले जानकारी दिएको छ । आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो। जसमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेल छन् । उहिलेदेखि नै तीनै जना थुनामा छन् ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भिडिओ सार्वजनिक भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
सरकारी वकिल यदुनाथ शर्माले तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवानाको सजाय माग गर्दै मुद्दा दर्ता गरेका छन् । रविलाई सरकारले फसाउन खोजेको भन्दै त्यसको विरोध र रविको समर्थनमा देशका विभिन्न स्थानमा सर्वसाधारणले प्रर्दशन गर्दै आएका छन् ।
