सन्तानलाई १२ कक्षासम्म निशुल्क पढाउने

तुलसीपुर, असोज १ ।
भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीमा परेका आफ्ना पालिकाका स्थानीयलाई तुलसीपुर उपमहानगरपालिकाले राहात दिने भएको छ ।
बाढीपछि सम्पर्कविहीन रहेका पीडित परिवारका लागि तुलसीपुर उपमहानगरपालिकाले राहतका साथै उनीहरुका बालबालिकाको लागि शिक्षाको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको बुधबार बसेको ५२ औं कार्यपालिका बैठकले भोटेकोशी बाढीबाट ज्यान गुमाउन पुगेका तथा बेपत्ता परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मेयर टीकाराम खड्काले बताए ।
हालसम्मको तथ्याङ्क अनुसार तुलसीपुरका २५ जना त्यो बिनासकारी बाढीमा परि बेपत्ता छन् ।
बेपत्ताहरुको खोजी तथा उद्धारका लागि राहतस्वरुप उनीहरुका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको मेयर खड्काले बताए ।
साथै बाढीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णयसमेत गरेको छ ।
बिनासकारी बाढीका कारण अभिभावक गुमाएका तथा बेपत्ता अभिभावकका सन्तान शिक्षाको उज्यालो बाट बञ्चित हुनु नपरोस भनेर कक्षा १२ सम्म निशुल्क रुपमा पढाउने निर्णय गरिएको उनले जानकारी दिए ।
