तुलसीपुर, भदौ १८।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गरेका छन । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा नेपाल –इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको आचार्यको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताए । विशेषगरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सीपलाई प्रदेशका किसान तथा युवासम्म पुर्याउन सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
इजरायली राजदूत बासले कृषि क्षेत्रमा सञ्चालन हुँदै आएको ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत भइरहेको साझेदारीलाई थप प्रभावकारी बनाउन सकिने बताएका थिए । उनले युवालाई कृषि क्षेत्रमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने ११ महिनाको ‘लर्न एन्ड अर्न’ कार्यक्रमलाई थप विस्तार गर्न सकिने बताए ।
राजदूत बासले बाढी तथा पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको अवस्थामा मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा समेत सहयोग गर्न सकिने बताएका थिए ।