तुलसीपुर , भदौ ४ ।
दाङको घोराहीमा ट्रयाक्टरले अटोलाई ठक्कर दिदा घाइते अटो चालकको उपचारका क्रममा मृत्यु भएको छ । अटोमा सवार थप दूई जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये घोराही उपमहानगरपालिका– ५ बसन्तपुरका ४५ वर्षीय अटो चालक विनोद पौडेलको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा बिहीबार बिहान पौने ३ बजेतिर मृत्यु भएको जिल्ला प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीले बताए । त्यो दुर्घटनामा परि घोराही – ५ का ४० बर्षीय खिमराज केसी र ४० बर्षकै तिलक केसी घाइते छन् ।
घाइते दुई जनाको अवस्था मध्यम रहेको तथा घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
घोराही –७ बेसाहीमा बुधबार बेलुकी ८ बजेतिर सौंडियारबाट सर्रातर्फ जाँदै गरेको रा १ त ३७०९ नम्बरको ट्रयाक्टरले घोराहीबाट बसन्तपुरतर्फ आउँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
प्रहरीले ट्रयाक्टरका चालक घोराही – १७ भैंसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।