
दाङ, साउन २९ ।
रोल्पाको फलावाङमा गएराति घर माथि बाट झरेको पहिरोले घर पुर्दा त्यसमा परि एक बृद्ध दम्पत्तिसहित तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको सुनछहरी गाँउपालिका –२ फलबाङका ७७ बर्षीय विरबहादुर घर्ती मगर, उनकी श्रीमति ६८ बर्षीया शनी घर्ती मगर र राति मगर दम्पत्तिको घरमा सुत्न आएकी छिमेकी ७० बर्षीया लली घर्ती मगरको शब शुक्राबर बिहान साढे ११ बजे फेला परेको जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।
त्यस्तै सुनछहरी –२ गिट्ठेमा स्थानीय लादे बुढा मगरको घरपनि पहिरोले पूर्ण रुपमा नष्ट भएको छ । बेपत्ता बुढा मगरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
राति पहिरोले घर पुरेको घटनाको खबर स्थानीयले प्रहरीलाई बिहान मात्रै अवगत गराएका थिए ।
त्यसपछि बिहान ९ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो ।
रोल्पाको थवाङ–५ कोटलबारामा बुधबार बेलुकी पहिरोमा परि १० जना मृत्यु भएको थियो ।
बिहीबार ५ वटा शब घटनास्थलमै र थप ५ वटा शब प्यूठानको माडी खोलाका बिभिन्न स्थानमा फेला परेका थिए ।
सो पहिरोमा परेका थप ३ जना भने अझैं फेला परेका छैनन् । प्रहरीले उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।
थवाङ पहिरोमा भागेर दुई जनाले भने ज्यान जोगाउन सफल भएका थिए । उनीहरु घाइते छन् । ती दुई जना घाइतेको उपचार बुटवलमा जारी छ ।
