२०८३ असार ३० गते मङ्गलवार

बिजौरीमा विद्यार्थीले गरे बजार अनुगमन


बिजौरी,असार ३० । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले सामुदायिक तथा निजी विद्यालयहरूमा ‘उपभोक्ता हित क्लब’ गठन गरी विद्यार्थीहरूलाई उपभोक्ता अधिकार, खाद्य स्वच्छता र व्यवसाय सञ्चालनबारे ब्यवहारिक सचेतना दिन थालेको छ ।

बालबालिकाको नेतृत्व विकास र बजार प्रणालीबारे ज्ञान दिने उद्देश्यले वडाले यो अभियानको सुरु गरेको हो ।

यसै अभियानअन्तर्गत जनता संस्कृत माध्यमिक विद्यालयमा गठित क्लबका विद्यार्थीहरूले मंगलबार बिजौरी बजारमा पुगेर बजार अनुगमन गरेका छन् ।

विद्यार्थीहरूले बजारका ३२ वटा विभिन्न पसलहरूको अनुगमन, अध्ययन तथा अवलोकन गरेका हुन् ।

अनुगमनका क्रममा उपभोक्ता हित क्लबकी सदस्य प्रतीक्षा चौधरीले होटलहरूमा सरसफाइको कमी देखिएकाले सुधारका लागि सुझाव दिइएको बताइन ।


त्यस्तै, अर्का विद्यार्थी सोनु नेपालीले बजार अनुगमनका क्रममा व्यवसाय दर्ता प्रक्रिया र सरसफाइको अवस्थाबारे व्यावहारिक रूपमा धेरै कुरा बुझ्ने अवसर मिलेको बताइन ।

त्यस अबसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधव वलीले बालबालिकाहरूलाई बजारको विस्तार, व्यवसाय सञ्चालनको प्रक्रिया र खाद्य सुरक्षाबारे बुझाउन यो प्रयास थालिएको जानकारी दिए ।

यसले विद्यार्थीहरूको नेतृत्व विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

त्यस्तै, उपभोक्ता हित सरक्षण केन्द्रका केन्द्रिय अध्यक्ष तथा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष एवं उपभोक्ता अधिकारकर्मी केशवप्रसाद शर्माले विद्यार्थीहरूमा स्वच्छ बजार र उपभोक्ता अधिकारबारे चेतना जगाउन वडासँगको समन्वयमा क्लब गठन गरिएको बताए ।

क्लबमार्फत बजारमा जाँदा विद्यार्थीहरूले खाद्य वस्तुको गुणस्तर र व्यवसाय दर्ताको कानुनी अवस्थाबारे प्रत्यक्ष ज्ञान लिने गरेको उनले उल्लेख गरे ।

अनुगमनका क्रममा तुलसीपुर १८ का सचिव रामकुमारी मरासिनी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, वडाका कर्मचारी कपिलमणी लामीछाने, पत्रकारहरु दिपक बोहरा, जितसागर जिएम,यमकला भुषाल, प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज सइ हरि देवकोटा लगाएतको उपस्थिति थियोे ।

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *