तुलसीपुर, माघ २९ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।
आगलागीबाट तुलसीपुर उपमहानगरपालिका १० सक्राम निवासी ६४ वर्षीया इश्वरी वलीको जलेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सूर्य राणाका अनुसार गत माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलीले लगाएको कपडामा आगो सल्किँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
आगलागी हुँदा वलीको पेटदेखि घुँडासम्मको भाग जलेको थियो ।
घटना लगत्तै तुलसीपुरस्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा त्यहाँपनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो ।
तर काठमाडौं पनि उपचार सम्भव नभएपछि काठमाडौंबाट हिजो सोमबार दाङ फर्काइएको थियो ।
दाङ ल्याएपछि वलीलाई फेरि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । वलीको मंगलबार बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।