दाङ,भदौ २ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत एमबीबीएस कार्यक्रम सुरु गर्न बाटो खुलेको छ ।
नेपाल सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ ।
२७ साउनमा आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षाको एमबीबीएस कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए ।
मन्त्रालयले ५ करोड रुपैयाँ विनियोजन गरेपनि थप स्रोत सुनिश्चित नहुँदा एमबीबीएसको अध्यापन अन्योलमा थियो । तर, स्वास्थ्य मन्त्रालयलगायतका पहलले अर्थसँग समन्वय भएपछि हालै रकम सुनिश्चित बनेको हो ।
दुवै प्रतिष्ठानले ५ वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए । तर, मन्त्रालयगत बजेट नै नआउँदा एमबीबीएस अध्यापन अघि बढ्न सकेको थिएन । अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ ।
जसमा ७५ प्रतिशत विद्यार्थीले सरकारी छात्रवृत्ति प्राप्त गर्नेछन् । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।
यसले विपन्न, जेहेन्दार तथा आरक्षण प्राप्त विद्यार्थीले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न बजेट सुनिश्चित गरेको छ ।
मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ ।
एमबीबीएस अध्यापनका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक तयारीका लागि काम अघि बढाएको जनाएको छ ।
यसअघि अर्थमन्त्री विष्णु पौडेलसँग एमाले महासचिव शंकर पोखरेलले पनि राप्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बजेट सुनिश्चिताका लागि लबिइङ गरेका थिए ।